काठमाडौं । नेपालका दुई छिमेकी राष्ट्रहरू भारत र पाकिस्तानबीचको जारी तनाव उत्कर्षमा पुगेपछि अमेरिकाले दुई पक्षसँग टेलिफोन कुराकानी गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री डा. एस जयशङ्कर र पाकिस्तानी सेना प्रमुख जनरल आसिम मुनिरसँग कुराकानी गरेका हुन् ।
भारतीय विदेशमन्त्री जयशङ्करले अमेरिकी समकक्षी रुबियोसँग आफ्नो कुराकानी भएको जानकारी दिएका छन् ।
कुराकानीबारे जानकारी दिँदै उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘आज बिहान अमेरिकाका विदेशमन्त्री मार्को रुबियोसँग कुराकानी भयो । भारतको दृष्टिकोण सधैँ संयमी र जिम्मेवार छ र भविष्यमा पनि यस्तै रहने छ ।’
यसैबीच, अमेरिकाले पनि भारतीय विदेशमन्त्री जयशङ्करसँग भएको वार्ताको बारेमा विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री जयशङ्करसँग छलफल गरे । उनले दुवै पक्षले प्रत्यक्ष कुराकानीमार्फत गलतफहमी घटाएर तनाव कम गर्नुपर्नेमा जोड दिए ।’
साथै, अमेरिकी विदेशमन्त्री रुबियोले भविष्यमा कुनै पनि विवाद नहोस् भन्ने उद्देश्यले दुई देशलाई संवादमा ल्याउन मद्दत गर्न सक्ने बताए ।
त्यस्तै, अमेरिकाले पाकिस्तानी सेना प्रमुख आसिम मुनीरसँग भएको वार्ताको बारेमा पनि विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विदेशमन्त्री रुबियोले आज बिहान पाकिस्तानी सेना प्रमुख मुनीरसँग कुरा गरे । उनले दुवैतर्फबाट तनाव घटाउने उपाय खोज्न आग्रह गरे र भविष्यमा टकराव नआओस् भन्ने उद्देश्यले अमेरिकाले वार्ता सुरु गराउन मद्दत गर्ने प्रस्ताव राखे ।’
यी समाचारहरू पनि पढ्नुहोस्–
भारतले भन्यो– पाकिस्तानसँगको तनावले नेपालको आपूर्तिमा समस्या हुँदैन
भारतको ‘अपरेशन सिन्दूर’ विरुद्ध पाकिस्तानले थाल्यो ‘अपरेशन बुनयान उल मरसुस’
परराष्ट्र मन्त्रालयले भन्यो– पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौँ
पाकिस्तानसँग बढ्दो तनावबीच भारतीय राजदूतले भेटे प्रधानमन्त्री ओली
‘अघोषित युद्ध’ मा छन् भारत र पाकिस्तान, नेपालमा सम्भावित प्रभावको पूर्वतयारी खोइ ?
FACEBOOK COMMENTS