काठमाडौं । भारतीय राज्य जम्मू–कश्मीरको पहलगाममा गत २२ अप्रिलमा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी हमलापछि एकअर्काविरुद्ध आक्रमण सुरु गरेका भारत र पाकिस्तान सङ्घर्ष रोक्न सहमत भएका छन् ।
अमेरिकाको मध्यस्थतामा दुई देशबीच जारी सङ्घर्ष ‘तत्काल र पूर्ण रूपमा’ रोक्ने सहमति भएको हो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान ‘तत्काल र पूर्ण युद्धविराम’ का लागि तयार भएको घोषणा गरेका छन् ।
आज शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्तापछि दुई देशले युद्धविराममा सहमति जनाएको उल्लेख गरेका छन् ।
ट्रम्पले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्तापछि म यो घोषणा गर्न पाउँदा हर्षित छु कि भारत र पाकिस्तानले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएका छन् । सामान्य ज्ञान र उत्कृष्ट बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई ! यस मामिलामा तपाईंहरूको ध्यानाकर्षणका लागि धन्यवाद !’
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सामाजिक सञ्जालमा पोष्ट गर्दै भारत र पाकिस्तानले व्यापक मुद्दाहरूमा छलफल सुरु गर्न सहमत भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘मलाई भन्दै गर्दा खुसी लागिरहेको छ कि भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न र निष्पक्ष स्थानमा व्यापक मुद्दाहरूमा कुराकानी गर्न सहमत भएका छन् ।’
यता, भारतले पाकिस्तानसँगको जारी सङ्घर्ष रोक्ने सहमति भएको विषय स्वीकार गरेको छ ।
भारतका विदेशसचिव विक्रम मिस्रीले शनिबार एक संक्षिप्त बयान जारी गर्दै भारत र पाकिस्तानबीच युद्धविराममा सहमति भएको जानकारी दिएका हुन् ।
उता, पाकिस्तानका उपप्रधानमन्त्री एवम् विदेशमन्त्री इसहाक डारले पनि पाकिस्तान र भारतले पूर्ण र तत्काल युद्धविराममा सहमति जनाएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पाकिस्तान र भारतले तत्काल प्रभावकारी रूपमा युद्धविराम गर्न तयार भएका छन् । पाकिस्तानले सधैँ आफ्नो सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्दै बिनासम्झौता क्षेत्रमा शान्ति र सुरक्षा चाहेको छ ।’
FACEBOOK COMMENTS