काठमाडौं । आफ्ना नेपाली समकक्षी ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्का मैत्रीपूर्ण निमन्त्रणमा भारतका विद्युत र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज मङ्गलबार नेपाल भ्रमणमा आउँदै छन् ।
उनी दुईदिने भ्रमणका लागि आज काठमाडौं अवतरण गर्ने छन् ।
२०८१ माघ ३० मा भारत भ्रमणका क्रममा मन्त्री खड्काले समकक्षी खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले आज भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेशन, २२०/३३ केभी बानेश्वर सबस्टेशन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेशन संयुक्त रूपमा सङ्खुवासभा तुम्लिङटार सबस्टेसशमा उद्घाटन गर्ने कार्यक्रम छ ।
खट्टरले आजै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्ने छन् । दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण कम्पनीको सम्झौतापत्रमा पनि हस्ताक्षर हुने छ ।
त्यस्तै, विद्युतमन्त्री खट्टरले भाेलि बुधबार मुस्ताङको मुक्तिनाथ अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् ।
खट्टर सोही दिन साँझ पशुपतिनाथ दर्शन गरेर भारत फर्कने कार्यकातालिका छ ।
FACEBOOK COMMENTS