वीरगञ्ज । नेपालका लागि रेलमार्फत हुने कार्गो ढुवानीमा पहिलोपटक भारतीय निजी कम्पनीले सेवा शुरू गरेको छ । हिन्द टर्मिनलले भारतको हल्दिया बन्दरगाहबाट यस्तो सेवा थालेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले जानकारी दिएको छ ।
हिन्द टर्मिनलको रेल ९० ओटा कन्टेनर लिएर वीरगञ्ज सुक्खा बन्दरगाहका लागि हिँडेको महावाणिज्यदूत ईश्वरराज पौडेलले आर्थिक अभियानलाई बताए । सोमवार हल्दिया बन्दरगाहबाट हिँडेको रेल बुधवारसम्म वीरगञ्ज आइपुग्ने वीरगञ्ज सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली लजिस्टिकले बताएको छ ।
नेपालमा रेलवेमार्पmत मालसामान ढुवानीमा निजी सेवाप्रदायकको प्रवेशले यस्तो ढुवानीमा एकाधिकार अन्त्य भएको उपमहावाणिज्यदूत तर्कराज भट्टले बताए । ‘रेलवे ढुवानी सेवामा निजी कम्पनी भित्रिएपछि एकाधिकारको अन्त्य भएको छ । यसले ढुवानी सेवा प्रतिस्पर्धी हुने बाटो खुलेको छ,’ उपमहावाणिज्यदूत भट्टले भने ।
नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय कन्टेनर निगम ९कोन्कर० लाई एकाधिकार दिएको थियो । ३ महीनाअघि मात्रै सम्झौता संशोधन भएको थियो ।
संशोधित सम्झौताले भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेको छ । त्यसअघि भारतका कोलकाता, हल्दिया र विशाखापत्तनम् बन्दरगाहबाट हुने कन्टेनर र अन्य कार्गो ढुवानीमा कोन्करको एकाधिकार थियो ।
एकाधिकारका कारण रेल भाडामा मनोमानी देखिएको भन्दै व्यवसायीहरूले रेलसेवा सम्झौता संशोधनको माग गर्दै आएका थिए । भारतमा १५ ओटा निजी कम्पनीले रेलमार्फत ढुवानी सेवा दिइरहेका छन् । तीमध्ये कोन्करसहित अन्य चारओटा कम्पनीले नेपालतर्फको ढुवानीमा रुचि देखाएका छन् ।
रेलव सेवा सम्झौताले भारतका निजी रेल सेवा प्रदायकलाई नेपालको कार्गो ढुवानीको बाटो खोलेपछि भारतीय कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । यसबाट नेपालको ढुवानी प्रतिस्पर्धी हुने नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ यातायात तथा पारवहन समितिका संयोजक अशोककुमार टेमानी बताउँछन् ।
ढुवानीलाई थप प्रतिस्पर्धी बनाउन नेपालको निजीक्षेत्रलाई समेत ढुवानीमा सहभागी गराइनुपर्ने सुझाव संयोजक टेमानीको रहेको आजको आर्थिक अभियानमा रहेको छ ।
FACEBOOK COMMENTS