काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आइतबार सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा भारतीय राजदूतले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् ।
देउवासँगको भेट गरी भारतीय राजदूतले आगामी सरकार निर्माण र सत्ता समीकरणबारे चासो राखेका थिए । बालुवाटार स्रोतका अनुसार श्रीवास्तवले राखेको चासोमा देउवाले चुनावको सम्पूर्ण परिणाम आइनसकेको र समानुपातिकतर्फको परिणाम पनि आउने क्रम जारी रहेको बताएका थिए ।
निर्वाचनको परिणाम आउने क्रम जारी रहँदा अहिलेको सत्ता गठबन्धनले सरकार निर्माणका लागि आवश्यक बहुमत पुर्याउने लक्षण देखिएको छ । देउवाले पनि यही गठबन्धन अघि जाने संकेत गरेका थिए । देउवा र श्रीवास्तवबीच हिजो भेट भएको थियो ।
यता आगामी सरकार निर्माण र सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र देउवाबीच पनि आज छलफल भएको छ । यही गठबन्धनले बहुमत ल्याउने देखिएपछि प्रचण्ड र देउवा सत्ता समीकरण र सरकार निर्माणमा देउवा सक्रिय भएका हुन् ।
शनिबार देउवा र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको हो । सो भेटमा चुनावी समीक्षा र आगामी रणनीतिबारे छलफल भएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार दुई नेताबीच छिट्टै पाँचदलीय गठबन्धनको बैठक बोलाउने सहमति भएको छ । उनले भने, ‘अहिले नेताहरू काठमाडौंबाहिर हुनुहुन्छ । उहाँहरू काठमाडौं आएपछि गठबन्धनको बैठक बस्ने कुरा भएको छ ।’
FACEBOOK COMMENTS