काठमाडौँ । भारतको सबैभन्दा ठूलो विमान सेवा कम्पनी इन्डिगोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पीटर एल्बर्सले पदबाट राजीनामा दिएका छन् । कम्पनीले मार्च १० मा नियामक निकायमा गरेको जानकारीमा यसको पुष्टि गरेको हो ।
एल्बर्सको राजीनामापछि कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक राहुल भाटियाले अन्तरिम रूपमा एयरलाइन्सको व्यवस्थापन सम्हाल्ने बताइएको छ । कम्पनीले शेयर बजार नियमाकलाई दिएको जानकारीअनुसार सञ्चालक समितिको बैठकले एल्बर्सको राजीनामा स्वीकार गरेको छ र आज कार्यालय समय सकिएपछि उनलाई जिम्मेवारीबाट मुक्त गरिएको छ ।
राजीनामाको कारण व्यक्तिगत रहेको जनाइएको छ । राहुल भाटियालाई लेखेको पत्रमा एल्बर्सले व्यक्तिगत कारण देखाउँदै पद छाड्ने निर्णय गरेको बताएका छन् । उनले आफ्नो नोटिस अवधि पनि छोट्याइदिन आग्रह गरेका थिए ताकि तत्काल प्रभावबाट पदमुक्त हुन सकियोस् ।
एल्बर्सले सन् २०२२ सेप्टेम्बरमा इन्डिगोको नेतृत्व सम्हालेका थिए । तर गत वर्ष डिसेम्बरमा कम्पनीले इतिहासकै ठूलो उडान सञ्चालन संकट सामना गर्नुपरेको थियो । त्यस समयमा सयौँ उडान रद्द तथा ढिला हुँदा करिब तीन लाख यात्रु प्रभावित भएका थिए ।
यस घटनापछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले इन्डिगोमाथि कडा कारबाही गर्दै २२ करोड २० लाख भारतीय रुपैयाँ जरिवाना लगाएको थियो । जाँचका क्रममा एयरलाइन्सले यात्रु सुविधा र सुरक्षा मापदण्डमा लापरवाही गरेको निष्कर्ष निकालिएको थियो ।

रिपोर्टअनुसार उडान संकटका कारण कम्पनीलाई करिब दुई हजार करोड भारतीय रुपैयाँ बराबरको नोक्सानी भएको थियो । त्यसपछि कम्पनीको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतबीच समन्वयमा समस्या देखिन थालेको विश्लेषण गरिएको थियो ।

FACEBOOK COMMENTS