काठमाडौं । यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्रपद शुक्ल द्वितीयादेखि सुरु हुन्छ ।
इन्द्रजात्राको लिङ्गो उठाउन रूख काट्न जानका लागि वन यात्रा गर्न जाने साइत आज बिहान ९: ५३ को रहेको समितिले जानकारी दिएको छ । त्यस्तै, रुख काट्ने साइत राति ८: ४७ बजेको रहेको छ । भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काट्ने परम्परा रहिआएको छ ।
लिङ्गो नगर प्रवेश गराउने साइत असोज ३ गते शनिबार बिहान ८: ०५ बजे रहेको छ । त्यसैगरी, इन्द्रध्वजोत्थानको साइत असोज ७ गते बुधबार बिहान ७: ४७ बजे र इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ । यसैदिन राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्तित्वले हनुमानढोकास्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ ।
त्यस्तै, असोज १० गते शनिबार माथिल्लो टोल यात्रा गराइन्छ । त्यसपछि असोज १३ गते मंगलबार महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरिन्छ भने यसै दिन राति ९: २५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको छ । लिङ्गो ढालेपछि राति नै राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि १३ दिन लामो इन्द्रजात्रा समापन गरिने परम्परा रहेको छ ।
सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन गरेको समेत पाइन्छ ।
