काठमाडौं । काठमाडौंको ऐतिहासिक जात्रा इन्द्रजात्राको इन्द्रध्वजको उत्थान आज शुभ साइत गरिएको छ । काठमाडौँको बसन्तपुरमा आज विहान १० बजेर ३१ मिनेटमा शुभसाईतमा लिङ्गो ठड्याएर इन्द्रध्वजको उत्थान गरेसँगै इन्द्र जात्रा शुरु भएको छ ।
यस वर्ष भिडियो डकुमेण्ट्री प्रतियोगिता, सम्पदा पद यात्रा , मेड इन काठमाडौं मार्फत माटाका सामान बनाउने कलाको प्रत्यक्ष प्रदर्शनी र तस्वीर प्रदर्शन समेत गरिदैछ ।
इन्द्रजात्राका लागि रथयात्रा अन्तर्गत भाद्र २२ गते माथिल्लो टोलमा रथयात्रा, भाद्र २६ गते विहिबार नानिचा यात्रा, हुने भने सोही दिन रातको १० बजेर ३१ मिनेनको शुभ साईतमा य:सीं क्व: थलेगु अर्थात इन्द्रध्वज ढलाएसँगै यसवर्षको इन्द्रजात्रा समापन हुने बताइएको छ ।
इन्द्रजात्रा काठमाडौ उपत्यकाको सवै भन्दा ठुलो जात्रा रहेको र नेवार समुदायको विशेष पर्वका रुपमा मनाउने गरिएको राष्ट्रिय पर्व हो ।
इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा नेवार समुदायले मनाउने जात्रा हो ।
यसलाई येँया पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो । इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो । १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो ।
भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागा: चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। सनातन धर्मावलम्बीहरूका प्रमुख
र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन् । इन्द्रजात्रा र लिंगो –ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन गरेको समेत पाइन्छ ।
FACEBOOK COMMENTS