सर्लाही । बागमती नगरपालिका–१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न छन् । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन् । उनि भन्छन् मेहेनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको छ ।’
कृषि उत्पादनमा व्यावसायिक रूपले जोडिनुपर्ने उनको तर्क छ । ‘हामी आफ्नो माटोमा सुन फलाउन छाडेर विदेशमा पित्तल कमाउन पुग्ने गर्छौँ’ उनले भने । झण्डै पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसियामा विताएका उनि युवाहरूलाई देशमै केही गर्न आग्रह गर्छन् ।
विगत एक दशकदेखि बिहान सबेरैदेखि साँझ अबेरसम्म उनि केराबारीमा भेटिन्छन् । खेतीबारी राम्रो हुन त्यसलाई पर्याप्त स्याहारसम्भार गर्नुपर्ने उनको अनुभव छ । ‘हाम्रो बानी कस्तो छभने खेतमा बाली लगाउने अनि फर्केर नजाने’, उनले भने ‘यसरी खेती हुँदैन, हाम्रा पितापुर्खाले भन्ने गर्नुभएको उखानै छ । घोकन्ते विद्या, ध्याउन्ते खेती ।’
बुबाबाजेले खेतीपाती गरेको देखेर हुर्किएका उनले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । तत्कालीन राज्यसत्ताविरुद्ध माओवादीले गरेको सङ्घर्षमा होमिएका उनि २०६५ सालमा वैदेशिक रोजगारीमा गए । ‘देशमा माओवादी सङ्घर्ष थियो । म पनि त्यसैमा होमिएको थिएँ । विसं २०६२/६३ मा काठमाडौँ केन्द्रित आन्दोलन भयो । त्यहाँ पनि निकै नाराबाजी गरियो’ उनले विगत सम्झिए ।
शान्ति वार्तापछि माओवादी सरकारमा गयो । हामी परिवार पाल्नै नसक्ने भएपछि भारतको बाटो हुँदै मलेसिया पुग्यौँ । माओवादी द्वन्द्वबाट आएका ४२ जना एकैपटक मलेसिया अवतरण भएका थियौँ । विदेशको भूमि, हावापानी, रहनसहन, भाषा, वेशभूषा सबै नयाँ । हामीलाई त्यहाँ महिनौँसम्म मार्बल र ढुङ्गा बोकाइयो । निकै कष्ट भयो । सीपबिनाको वैदेशिक रोजगारी पशुले गर्ने सङ्घर्ष हुने उनको भनाइ थियो ।
यसरी पाँच वर्ष काम गरेपछि २०७१ सालमा स्वदेश फर्किएँ । विदेशबाट ल्याएको पैसा एउटा घर बनाउनेबित्तिकै सकियो । फेरि दैनिक छाक टार्नै धौधौको अवस्थामा पुगियो । परिवार बिरामी पर्दा छिमेकमा सापटीसमेत पत्याउन छाडे । काम र दुःख सम्झेर विदेश जाने आँट पनि आएन । त्यसपछि छिमेकीको खेत भाडामा लिएर केराखेती सुरु गरेको उहाँले सुनाउनुभयो । त्यसयता उनले दुःखलाई फर्किएर हेर्नुपरेको छैन ।
गाउँमा रु पाँच सय कसैले नपत्याउने अवस्थाबाट केराखेतीले सम्मानजनक जीवन दिएको उनको कथन छ । पुख्र्यौली सम्पत्तिका नाममा तीन कठ्ठा जग्गा पाएका उनले १० वर्षमा १५ कठ्ठा खेत, दुई ठाउँमा घडेरी जोडेको बताउनुभयो । तीन सन्तानलाई उनीहरूले चाहेअनुसार आजको युग सुहाउँदो शिक्षादीक्षा यसै खेतीको आम्दानीबाट पूरा गरिरहेको उनको भनाइ छ ।
उनले एक छोरालाई फार्मेसी पढाएका छन् । दुई सन्तान उच्च शिक्षा अध्ययनरत छन् । छोराछोरीलाई आजको समाजमा बाँच्न सक्ने वातावरण तयार गर्न सक्नु नै ठूलो सम्पत्ति आर्जन भएको बताउँछन् । आफूहरूजस्तो निम्नवर्गीय परिवारका लागि शिक्षा निकै महँगो बन्दै गएको छ । पैत्रिक सम्पत्तिका नाममा तीन कठ्ठा खेत पाएका उनले छिमेकीको एक बिघा खेत भाडामा लिएर केराखेती सुरु गरेको बताए ।
उनको केराखेती अहिले साढे आठ बिघा पुगिसकेको छ । उनले वर्षको प्रतिकठ्ठा रु चार हजार आठ सयदेखि छ हजार पाँच सयसम्म भाडा तिर्नुहुन्छ । केरा रोपेको १२ देखि १४ महिनाबाट उत्पादन दिन सुरु हुन्छ । नौ हजार दुई सय बोट केरा रहेकामा प्राकृतिक प्रकोपमा परेर वर्षमा सय बोटसम्म केरा क्षति हुने गरेको उहाँको भनाइ छ । सुरुमा खनजोत, मलखाद, मजदुर गरी रु २२ लाख लगानी गरेको खेतीबाट १४ महिनामा रु ३१ लाख बढीको केरा बिक्री गर्ने उनको भनाइ छ ।
‘प्रतिघरीमा ९० देखि एक सय कोसा केरा फल्छ ’ उनले भने,‘मैले मालभोग र नाइन ग्रेड (घ्यू) केराको बोट लगाएको छु । नाइन ग्रेडको घरीमा दुई सय कोसासम्म फल्छ ।’ प्रतिकोसा रु ३.५० पैसाका दरले कम्तीमा तीन सय ५० देखि पाँच सयसम्म प्रतिघरी केरा बिक्री हुन्छ । छठ तथा चाडपर्वमा अझै महँगोमा बिक्री हुने उहाँले जानकारी दिनुभयो । यहाँ उत्पादन भएका केरा स्थानीय हरिवन, बरहथवा, नयारोड, सोल्टीलगायत बजारसम्म लैजाने गरिएको छ ।
‘बजारको मागअनुसार केरा दिन नसकेको उनको भनाई छ । हप्तामा दुई सय ५० घरीभन्दा धेरै केरा पसलेले माग्नुहुन्छ‘, उनले भने ’ छ–सात बिघामा गरेको खेतीले पुर्याउन गाह्रो छ । थोरैथोरै गरेर दिने गरेको छु । ’
FACEBOOK COMMENTS