काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलाहरूलाई ड्राइभिङ पेसामा समान अवसर प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो समूहलाई प्रमाणपत्र प्रदान गरेको छ ।
काठमाडौंमा आयोजित विशेष समारोहमा तीन महिनाको गहन प्रशिक्षण सफलतापूर्वक पूरा गरेका १० जना महिला सहभागीहरूलाई आधिकारिक रूपमा सम्मानित गरिएको हो ।
यो कार्यक्रम विशेषगरी अवसरबाट वञ्चित समुदायका महिलाहरूलाई मोबिलिटी क्षेत्रमा आर्थिक अवसरहरूसँग जोड्न र परम्परागत रूपमा पुरुषको वर्चस्व रहँदै आएको पेसामा रहेका सामाजिक तथा व्यावहारिक अवरोधहरूलाई कम गर्न सञ्चालन गरिएको थियो ।

प्रशिक्षण अवधिभर सहभागीहरूलाई सडक सुरक्षा, व्यावहारिक राइडिङ तथा व्यक्तिगत सुरक्षासम्बन्धी बहुआयामिक मार्गदर्शन प्रदान गरिएको थियो ।
फाइटब्याक नेपालसँगको सहकार्यमा उन्नत आत्मरक्षा तालिम समेत सञ्चालन गरिएको थियो, जसले उनीहरूलाई सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गर्न र आत्मविश्वासका साथ सामना गर्न सक्षम बनाएको छ ।
साथै, सहभागीहरूलाई औपचारिक सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने प्रक्रियामा सहयोग गर्नुका साथै सुरक्षात्मक हेल्मेट, प्राथमिक उपचार किट तथा अन्य अत्यावश्यक सामग्रीहरू समेत प्रदान गरिएको थियो ।
काठमाडौंमा आयोजित प्रमाणपत्र वितरण समारोहमा इनड्राइभका प्रतिनिधिहरू, सरकारी निकायका सरोकारवालाहरू, सञ्चारकर्मीहरू तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा इनड्राइभ नेपालकी ब्रान्ड एम्बेसडर एवं चर्चित अभिनेत्री स्वस्तिमा खड्काले प्रशिक्षण पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र, सुरक्षा किट र मायाको चिनो प्रदान गरेका थिए ।
सहभागीहरूलाई व्यावसायिक यात्राको सुरुवातमा थप सहयोग पुर्याउने उद्देश्यले समारोहका क्रममा एक जनालाई विद्युतीय स्कुटर, तीन जनालाई स्मार्टफोन र छ जनालाई स्मार्टवाच समेत उपहारस्वरूप प्रदान गरिएको थियो ।
यस कार्यक्रममार्फत सवारी चालक अनुमतिपत्र प्राप्त गर्नु महिलाहरूका लागि केवल आम्दानीको माध्यम मात्र नभई शिक्षा, स्वास्थ्य सेवा तथा बजारसम्म स्वतन्त्र रूपमा पुग्ने गतिलो अवसर बनेको छ । दुईपाङ्गे राइड–हेलिङ सेवाले शहरका साँघुरा गल्लीहरूसम्म सहज पहुँछ पुर्याउने भएकाले यात्रुहरूका लागि समेत थप सुविधा र उपयुक्त चालक छनोट गर्ने विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ ।