काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म ‘इन्ड्राइभ’ले पनि अबदेखि आफ्ना राइडरहरूसँग कमिसन लिने भएको छ ।
राइडसेयरिङ एप इन्ड्राइभ नेपालमा कम्पनी दर्ता भएर हिजो सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएसँगै यसले पनि राइडरहरूसँग कमिसन लिने बताएको छ । ‘नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न इन्ड्राइभले चालकका लागि १०% सम्म कमिसन शुल्क लागू गरेको छ,’ इन्ड्राइभ नेपालकी डिरेक्टर रीता पोखरेलले भनिन् ।
काठमाडौंमा सोमबार एक कार्यक्रम आयोजना गर्दै कम्पनीले नेपालमा कानुनअनुसार दर्ता भएर औपचारिक रूपमा सेवा सुरू गरेको उनले बताइन् । इन्ड्राइभले न्यूनतम कमिसन लिएर पारदर्शी सेवा प्रदान गर्ने पोखरेलको भनाइ छ । यसअघि, कमिसन र कार्यालयबिनै सञ्चालनमा रहेको इन्ड्राइभले ‘अन्य राइड हेलिङ कम्पनी’को तुलनामा १० प्रतिशतमात्रै कमिसन शुल्क तोकेको हो । यो शुल्क करसहित भएको र राइडरबाट १० प्रतिशतबाहेक थप रकम नलिने कम्पनीको भनाइ छ ।
नेपालमा लोकप्रिय बनिरहेको राइड शेयरिङ एप पठाओले हाल आफ्ना राइडरहरूसँग २० प्रतिशत कमिसन लिँदै आएको छ । पठाओसँग प्रतिस्पर्धाका लागि इन्ड्राइभले कम शुल्क तोकेको अनुमान सहजै गर्न सकिन्छ । तर, पठाओले उपलब्ध गराएको बीमालगायत सुविधा इन्ड्राइभमा हाललाई छैन । त्यसकारण नेपालमा कार्यालय सञ्चालन गरेर पनि इन्ड्राइभ अझै असुरक्षित रहेको मान्न सकिन्छ । त्यसो त इन्ड्राइभले पनि आफ्ना राइडर र क्लाइन्टका लागि चाँडै नै बीमा सुविधा लागू गर्ने प्रतिबद्धता पनि जनाएको छ । तर, कहिलेसम्म भनेर खुलाएको छैन ।
इन्ड्राइभले हाल आफ्नो सेवा काठमाडौं, पोखरा र भरतपुरमा उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा विस्तार गर्दै जाने बताएको छ । कम्पनीले राइड शेयरिङबाहेक, कुरियर र कार्गो सेवा पनि उपलब्ध गराउने जानकारी दिएको छ ।
औपचारिक यात्रा घोषणा कार्यक्रममा इन्ड्राइभको एसिया प्यासिफिक कम्युनिकेसन्स लिड पवित नन्दा आनन्दले भने, ‘इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा सुरू भएको घोषणा गर्न पाउँदा हामी उत्साहित छौँ । हाम्रो लागि नेपालको बजार अत्यन्तै महत्वपूर्ण छ र हाम्रा सेवाहरूले नेपाली बजारमा नवीनता ल्याउने र रोजगारी प्रदान गर्नेमा हामी विश्वस्त छौँ ।’
इन्ड्राइभका संस्थापक आर्सेन टम्स्की हुन् । रुसको साइबेरिया क्षेत्रमा जन्मेका टम्स्कीले सन् २०१२ मा रुसकै याकुत्स्क सहरबाट इन्ड्राइभ कम्पनी सुरू गरेका थिए । कम्पनी सन् २०१३ देखि औपचारिक रूपमा सुरू भएको थियो । हाल अमेरिकाको क्यालिफोर्नियामा मुख्यालय रहेको कम्पनीले ४५ देशका ७०० भन्दा बढी देशमा सेवा दिइरहेको छ । २० करोडभन्दा बढीपटक डाउनलोड भइसकेको इन्ड्राइभ विश्वकै दोस्रो धेरै डाउनलोड हुने राइड तथा ट्याक्सी सेयरिङ एप हो ।
इन्ड्राइभ र आईएमई पेबीच भुक्तानी सम्झौता
राइडरहरूले इन्ड्राइभलाई शुल्क तिर्न सहजा होस् भनेर सोमबार नै इन्ड्राइभले आईएमई–पेसँग भुक्तानी सम्झौता पनि गरेको छ । यो सम्झौतासँगै इन्ड्राइभको आधिकारिक भुक्तानी साझेदारको रूपमा आईएमई–पे नियुक्त भएको घोषणा पनि गरिएको छ । इन्ड्राइभका तर्फबाट पीआर कम्युनिकेसन लिड पभितनन्दा आनन्द तथा इन्ड्राइभ नेपालका डाइरेक्टर रिता पोखरेल र आईएमई डिजिटलका सीईओ प्रबिन रेग्मी तथा आईएमई लिमिटेडका सीईओ खिलेन्द्र पौडेलको उपस्थितिमा सो सम्झौता भएको हो ।
सम्झौतासँगै इन्ड्राइभका प्रयोगकर्ताले आईएमई–पेमार्फत सहजै भुक्तानी गर्न सक्ने भएका छन् । राइडरहरूले इन्ड्राइभलाई शुल्क तिर्न एपभित्र रहेको वालेट भन्ने अप्सनमा गएर पैसा लोड गर्नुपर्नेछ । आईएमईपेबाट पैसा लोड गरेपछि प्रत्येक राइडबाट कमाएको रकमको १० प्रतिशत रकम काटिनेछ र लोड गरेको पैसा सकिएपछि फेरि लोड गर्नुपर्नेछ ।
FACEBOOK COMMENTS