काठमाडौं । हल्चोक क्षेत्रका १० देवगणहरूको सहभागितामा १२ वर्षमा एकपटक मात्र हुने ऐतिहासिक इन्दुजात्रा यसपटक केलटोल परिसरमा सम्पन्न गरिएको छ।
मछिन्द्र क्लबको प्रमुख आयोजनामा प्रदिप्त पुस्तकालय र केलटोल नारेश्वर दवली व्यवस्थापन समितिको संयुक्त सहकार्यमा जात्रालाई सफल बनाइएको हो।
स्थानीय बासिन्दाको सहभागिता, सांस्कृतिक झाँकी, बाजागाजाको धुन र आस्थाले भरिएको वातावरणले जात्रालाई झनै ऐतिहासिक बनाएको छ।
जात्रामा चण्डी, कुमारी, हल्चोक भैरव, गंगा, महादेव, पार्वती, आकाश देवी, बाराही, महाकाली र दक्षिणकाली गरी जम्मा १० देवगणहरूको भव्य नाचगान प्रस्तुत गरिएको थियो।
देवगणहरूको स्वागतमा वस काप विच्छ्याई, सुकुन्दा, धुप, दीप, लावा-अविर र फूलहरूसँग भव्य स्वागत गरिएको थियो।
नाच प्रदर्शन पश्चात देवगणहरूलाई विशेष पूजाआजा गर्दै टोलबासी तथा श्रद्धालु भक्तजनहरूले दर्शन गरेका थिए। समेभजी प्रसाद वितरण, आर्थिक सहयोग संकलन र पञ्चबली अर्पणपछि देवगणहरूलाई पुनः बाजागाजा सहित निवासतर्फ बिदाई गरिएको थियो।
मछिन्द्र क्लबले यस्ता परम्परागत सांस्कृतिक पर्वहरूको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै समुदायबीच एकता, आस्था र संस्कृति प्रतिको सम्मानलाई अझ मजबुत बनाउँदै आएको छ। क्लबले आगामी दिनहरूमा पनि यस्तै सामाजिक र सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ।
FACEBOOK COMMENTS