काठमाडाैं । विद्यमान अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपाय खोज्न निजी क्षेत्रका दुई ठूला छाता संगठन सहकार्य गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले अर्थतन्त्रका समस्या समाधान गर्न संयुक्तरूपमा अघि बढ्ने ऐक्यबद्धता जनाएका हुन् ।
महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागतका लागि शुक्रबार परिसंघमा गरिएको कार्यक्रममा दुवै संस्थाले यस्तो ऐक्यबद्धता जनाएका हुन् । २१ बर्षपछि नेपालका दुइ ठूला निजी क्षेत्रका छाता संस्था एउटै एजेन्डामा उभिएका हुन् ।
महासंघमा पशुपति मुरारका अध्यक्ष भएको समयमा महासंघको २०७३ सालको साधारणसभामा चौधरीलाई सहभागी गराएका थिए। त्यसपछि विशेष एजेण्डाहरुमा संयुक्त विज्ञप्तिहरु पनि जारी गर्न थालिएको थियो।
अहिले चन्द्रप्रसाद ढकाल अध्यक्ष भएपछि महासंघको टोलीले परिसंघको कार्यालय नै पुगेर अर्थतन्त्रको समस्यामा संयुक्त ऐक्यबद्धता अपनाउने बताएको हो। सो क्रममा नेपाल उद्योग परिसंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा स्वागत समेत गरेको छ। उक्त स्वागत भेटमा यस्तो ऐक्यबद्धता भएको हो।
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, हेमराज ढकालसहित कार्यसमिति सदस्यहरुलाई गरेका थिए।
सो अवसरमा परिसंघ र महासंघले विद्यमान अर्थतन्त्रको समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका हुन्।
कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले वर्तमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन, नियम निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनुपर्ने बताए।
उनले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता संगठनहरु मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने बताए।
एक भएर अगाडि बढ्दा निजी क्षेत्रको समस्या समाधान भएको दृष्टान्त प्रस्तुत गर्दै उनले आगामी दिनमा पनि अर्थतन्त्र सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन, विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने बताए।
निजी क्षेत्रले संगठित रुपमा उठाएका विषयहरुलाई सरकारले गम्भिरता पूर्वक लिएको बताउँदै समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुने विश्वास व्यक्त गरे।
परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले विद्यमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायहरुसहित सरकारलाई सुझाउनुपर्ने बताए।
परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले थप प्रभावकारी रुपमा निजी क्षेत्रका समान समस्या समाधानका लागि समान समाधानका उपायहरु खोज्नुपर्ने बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए।
FACEBOOK COMMENTS