काठमाडौं । इनफिनिक्सले नेपालमा नयाँ ट्याब्लेट एक्सप्याड २० प्रो सार्वजनिक गरेको छ ।
ठूलो पर्दा, सशक्त कार्यसम्पादन र स्मार्ट सुविधासहित ल्याइएको यो ट्याब्लेट पढाइ, कार्यालयको काम तथा मनोरञ्जनका निम्ति उपयुक्त रहेको कम्पनीले जनाएको छ ।एक्सप्याड २० प्रोमा १२ इन्चको उच्च गुणस्तरीय डिस्प्ले र ९० हर्ज रिफ्रेस रेट छ ।
यसले भिडियो हेर्दा, अध्ययन गर्दा वा खेल खेल्दा सहज र स्पष्ट दृश्य अनुभव दिने जनाइएको छ ।आँखाको सुरक्षासम्बन्धी प्रमाणीकरण भएकाले लामो समय प्रयोग गर्दा पनि आँखामा थकान नपर्ने कम्पनीको दाबी छ ।
ट्याब्लेटमा शक्तिशाली प्रोसेसर जडान गरिएको छ । यसले एकैपटक धेरै काम गर्न, खेल खेल्न तथा दैनिक प्रयोगमा राम्रो कार्यसम्पादन दिन्छ । यसमा मोबाइल डाटाको सुविधा समेत रहेकाले वाइफाइ उपलब्ध नभए पनि इन्टरनेट प्रयोग गर्न सकिनेछ ।
यस ट्याब्लेटमा कृत्रिम बौद्धिकतामा आधारित सुविधा पनि समावेश गरिएको छ । लेखनमा सहयोग, अनुवाद गर्ने, लामो सामग्री छोट्ट्याएर देखाउने तथा स्क्रिनमा देखिएको सामग्री चिन्नेजस्ता काम सजिलै गर्न सकिने कम्पनीले जनाएको छ ।

मनोरञ्जनका निम्ति ट्याब्लेटमा चार स्पीकर जडान गरिएको छ । यसले चलचित्र, खेल र संगीतमा चारैतिरबाट आउने ध्वनिको अनुभव दिनेछ । पातलो धातुको एकसाथ बनेको संरचनाले ट्याब्लेटलाई आकर्षक देखिनुका साथै मजबुत बनाएको छ ।

मोबाइल र ट्याब्लेटबीच फाइल आदानप्रदान तथा स्क्रिन साझा गर्न सकिने सुविधा पनि यसमा छ । यसले कामलाई अझ सहज बनाउने कम्पनीको भनाइ छ ।
नेपालमा एक्सप्याड २० प्रो दुई संस्करणमा उपलब्ध हुनेछ । चार जीबी र्याम र १२८ जीबी भण्डारण क्षमताको यसको प्रतिमूल्य २६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

आठ जीबी र्याम र २५६ जीबी भण्डारण क्षमताको यसको प्रतिमूल्य ३१ हजार ९९९ रुपैयाँ कायम छ । यो ट्याब्लेट देशभरका अधिकृत इनफिनिक्स बिक्री केन्द्रमा उपलब्ध हुने जनाइएको छ । इनफिनिक्सले ठूलो पर्दा, स्मार्ट सुविधा, आकर्षक बनावट र उचित मूल्यलाई एउटै ट्याब्लेटमा समेटेर बहुउपयोगी उपकरण खोज्ने प्रयोगकर्तालक्षित गरेको जनाएको छ ।

FACEBOOK COMMENTS