काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा हालै आएको विनाशकारी प्राकृतिक विपद्सँग सम्बन्धित मानवीय रूपमा संवेदनशील सूचना, तस्बिर तथा भिडियो प्रकाशन र प्रसारण नगर्न सञ्चारमाध्यम तथा आम नागरिकलाई अपिल गरेको छ ।
मन्त्रालयले विपद्को यस संवेदनशील अवस्थामा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट प्रवाह हुने सूचनाले उद्धार, राहत तथा जनमानसमा महत्वपूर्ण प्रभाव पार्ने भन्दै समाचार तथा सूचना सम्प्रेषण गर्दा मानवीय संवेदनशीलता र जिम्मेवारीलाई विशेष ध्यान दिन आग्रह गरेको हो ।
मन्त्रालयका अनुसार विपद्बाट भएको मानवीय तथा भौतिक क्षतिबाट प्रभावित नागरिकको उद्धार तथा राहत वितरणका लागि नेपाल सरकारबाट प्रयास भइरहेको छ । यस्तो अवस्थामा विपद्सम्बन्धी समाचार तथा विवरण सम्प्रेषण गर्दा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय विपद् व्यवस्थापन समितिजस्ता आधिकारिक निकायबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन आग्रह गरिएको छ ।
त्यस्तै, अपुष्ट, कपोलकल्पित तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगबाट सिर्जना गरिएका भ्रामक सामग्री र सर्वसाधारणमा त्रास फैलाउने खालका समाचार तथा अफवाह सम्प्रेषण नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सामाजिक सञ्जालमा विपद्का हृदयविदारक घटना, तस्बिर, भिडियो तथा विवरण प्रकाशन वा पुनःप्रकाशन नगर्नसमेत अनुरोध गरेको छ । विपद्मा ज्यान गुमाएका तथा प्रभावित व्यक्तिका परिवारजनको भावनालाई ध्यानमा राख्दै पूर्ण मानवीय संवेदनशीलता अपनाउन मन्त्रालयले अपिल गरेको हो ।
विपद्को समयमा भयावह तथा मानसिक रूपमा विचलित बनाउने सामग्री प्रकाशन, प्रसारण, सामाजिक सञ्जालमा राख्ने, साझा गर्ने वा पुनःप्रकाशन गर्ने कार्य नगरी सही, तथ्यपरक र जिम्मेवार सूचना प्रवाह गर्न मन्त्रालयले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।
मन्त्रालयले कतिपय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा मानव तथा समाजलाई नै विचलित पार्ने किसिमका तस्बिर र भिडियो प्रकाशन तथा प्रसारण भइरहेको पाइएको जनाएको छ । यस्ता सामग्रीले विपद्मा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप मानसिक पीडा दिने भएकाले जिम्मेवार सूचना सम्प्रेषण गरी उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तासँग विशेष आग्रह गरेको छ ।