काठमाडौं । आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएका थिए । तर, ती सबै बजेटमै सीमित रहेका छन भने अधिकांश योजना सुरुवाती चरणमा रहेका छन् ।
टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन कार्य पनि अगाडि बढ्न सकेको छैन । महतले बजेटमानै छड्के कार्यक्रम पारेर टोखा–छहरे सुरुङ मार्गको विस्तृत आयोजना प्रतिवेदन र वातावरणीय प्रभाव अध्ययन सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन १ अर्ब रूपैयाँ बजेट विनियोजन भएका थिए । तर सो सुरुङ आयोजनको सरकारले प्रारम्भिक वातावरणीय अध्ययन गरेर चीन सरकारलाई पठाएको सडक विभागले जनाएको छ ।
चीन सरकारले सो सुरुङमार्ग निर्माणको लागि करिब ५ वर्ष अगाडि नै स्थलगत अध्ययन गरेर गएको थियो । पछिल्लो समयमा भने सो सुरुङ मार्ग निर्माणको लागि विस्तृत वातावरणीय अध्ययन गर्नको लागि सुझाउँदै आएको छ । विभागले सुरुङमार्गको डिपिआरसहितको अध्ययन भएपछि निर्माण प्रक्रिया अगाडि बढ्ने जनाएको छ ।
कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने भनिए पनि कुनै पनि आयोजना हालसम्म औपचारीक रूपमा सुरु भएको छैन । कोटेश्वर इन्टरशेक्सनको निर्माणको लागि जापानसँगको सम्झौता अन्तिम चरणमा भए पनि आन्तरिक तयारीको क्रममा रहेकाले मुक्तरूप पाउँन नसकेको सडक विभागका प्रवक्ता रामहरी पोखरेलले बताएका छन् । कोटेश्वरमा निर्माण हुने फ्लाइओभर र सुरुङमार्गको सम्झौताका अन्तिम चरणमा छ । तर बजेट अभावले सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माणको काम हुन नसकेको विभागले जनाएको छ ।
विभागका अनुसार स्रोत सुनिश्चताको लागि अर्थ मन्त्रालयमा माग भए पनि बजेट प्राप्त नभएपछि ती आयोजना अगाडि बढ्न सकेको छैन । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा कोटेश्वर इन्टरसेक्सन निर्माण कार्य सुरु, सुरुङमार्ग, फ्लाईओभर र इन्टरसेक्सन निर्माणका लागि ५ अर्ब ६३ करोड विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण अनुसार चालु आवको फागुनसम्म ६७ सडक पुल निर्माण भएका छन् । चालु आवको बजेटमा पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन भएको थियो । बजेटमा सरकारले राखेको लक्ष्यको आधा पनि पुल निर्माण भएको छैन ।
चालु आर्थिक वर्षको फागुनसम्म १८९ किलोमिटर सडक कालोपत्रे स्तरमा र १९० किलोमिटर सडक खण्डास्मित स्तरमा स्तरोन्नति भएको छ भने २८ किलोमिटर थप नयाँ सडक निर्माण भएको छ । साथै, ७ हजार ८२१ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ भने ९९ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएका छन् ।
अघिल्लो आव भन्दा ३० अर्बले घटेको भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाएर सम्पन्न हुने आयोजनामा मात्रै बजेट विनियोजन गरेको तत्कालालीन अर्थ मन्त्री महतको दावी थियो ।
सरकारले चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रूपैयाँ विनियोजन गरेको थियो । संसोधित बजेट भने १ खर्ब ३५ अर्ब ७७ करोड रहेको थियो । मन्त्रालयले वैशाखसम्म संशोधित बजेटको आधारमा चालु खर्च ७१.५९,पुँजीगत ४५.६३ प्रतिशत गरी कुल ४६.९३ प्रतिशतमात्र खर्च गरेको मन्त्रालयले जनाएको छ ।
तत्कालीन अर्थमन्त्री महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको बताएका थिए । उनले सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित चालु बजेट तयार पारेको दाबी पनि गरेका थिए ।
काठमाडौं चक्रपथको कलंकी बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीव्रता दिन २ अर्ब ७ करोड छुट्टयाएको थियो । तर चक्रपथ विस्तारको काम अगाडि बढ्न सकेको छैन । सरकारले कही किलोमिटर सर्भिसलेनमात्र निर्माण पुरा गरेको अवस्था छ ।
ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य चालु आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिए पनि त्यो सम्भावना नभएको अवस्था छ । फ्लाइओभर बनाउनका लागि अहिले आठ लेन सडकको मध्य भागका चार लेन बन्द गरिएको छ । अहिले सबै सवारीसाधन सर्भिस लेनबाट मात्र चल्नुपर्ने बाध्यता छ । पछिल्लो समय फ्लाइओभरमा जाने एपरोज सडक र आइरल वालको निर्माण भइरहेको छ ।
सरकारले चालु आवमा काठमांडौका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाईट जडान गर्ने, सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र वातावरणमैत्री बनाइने भनेको थियो । सुरक्षित सडक सञ्जालको विकास गरी दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा परीक्षण गर्ने व्यवस्था गरिने समेत बजेटमा उल्लेख थियो । यी सबै कार्यक्रमको कार्यान्वयन हुन सकेको छैन ।
FACEBOOK COMMENTS