सुर्खेत । नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विक मृत्यु प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ ।
घटनाको अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।
‘प्रहरीले आरोपितहरूको बयान र प्राप्त प्रमाणका आधारमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ । सोही प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेष गरिएको हो’ उनले भने । अब सरकारी वकिल कार्यालयले नै मुद्दा अघि बढाउने उनको भनाइ छ ।
प्रहरीले प्रतिवेदनको निष्कर्षबारे जानकारी भने दिएको छैन । घटनासँग सम्बन्धित केही प्राविधिक रिपोर्टहरू प्राप्त भइसकेको र केही आउने क्रममै रहेको डिएसपी बुढथापाले जानकारी दिए । ‘अब दुई ओटा रिपोट आउन बाँकी छ । बाँकी रिपोर्टहरू अदालतमा मुद्दाको सुनुवाइ हुँदै गर्दा पनि पेस गर्न सकिने भएपछि प्रतिवेदन पेष गरिएको छ’ डिएसपी बुढथापाले भने ।
इनिसा घटनाको छानबिनका लागि सुर्खेत आएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान सकेर आइतबार नै काठमाडौं फर्किएको छ । गुर्भाकोट–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१, बस्दै आएकी १६ वर्षकी इनिसाको गत फागुन २३ गते वीरेन्द्रनगर मृत्यु भएको थियो ।

२३ गते शनिवार बिहान ६ बजे नै ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी सोही दिन बिहान ९ बजेतिर वीरेन्द्रनगर–४ को सहिद पार्क नजिकैको जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले उनलाई प्रदेश अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

सोही दिन प्रहरीले घटनास्थलबाट एक १६ वर्षे युवकलाई नियन्त्रणमा लिएको थियो । उनको बयानका आधारमा थप तीन जनालाई २४ गते नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको थियो । घटनालगत्तै पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको दाबी गर्दै पक्राउ परेका चारै जनाविरुद्ध कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्दामा किटानी जाहेरी दिएका थिए।

प्रहरी प्रतिवेदनले, पक्राउ परेका चारै जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ । २३ गते नै पक्राउ परेका १६ वर्षीय युवकको मुख्य संलग्नता रहेको अनुसन्धानको निष्कर्ष छ । २४ गते पक्राउ परेका अन्य तीन युवकहरूको बयान र विभिन्न ठाउँका सिसिटिभी फुटेजमा देखिएको समय रेखा मिलेको प्रहरीले बताएको छ ।
FACEBOOK COMMENTS