काठमाडौँ । विश्वका ठूला सामाजिक सञ्जाल कम्पनीहरू इन्स्टाग्राम र युट्युबमाथि बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने गरी ‘लत बनाउने मेसिन’ निर्माण गरेको आरोपसहित ऐतिहासिक मुद्दाको सुनुवाइ सुरु भएको छ ।
क्यालिफोर्नियाको लस एन्जलस सुपेरियर कोर्टमा सुरु भएको यस मुद्दाले सामाजिक सञ्जालको डिजाइन र त्यसका प्रभावबारे गम्भीर बहस सुरु गराएको छ ।
मुद्दाको प्रारम्भिक बहसमा वादी पक्षका वकिल मार्क लानियरले (नाम गोप्य राखिएका व्यक्ति ) सामाजिक सञ्जालको लतका कारण मानसिक स्वास्थ्य समस्यामा परेको दाबी गरेका थिए ।
उनले अदालतमा यी कम्पनीहरूले जानाजानी बालबालिकाको मस्तिष्कलाई लत लाग्ने गरी मेसिन बनाएको आरोप लगाउदै यो कुनै दुर्घटना होइन, सोचेर गरिएको डिजाइन भएको दाबी गरेका थिए । लानियरले मेटा (इन्स्टाग्रामको मातृ कम्पनी) र युट्युबले आफ्ना प्लेटफर्मको जोखिमबारे किशोर प्रयोगकर्तालाई चेतावनी दिन असफल भएको आरोपसमेत लगाएका छन् । उनले यो मुद्दा इतिहासकै सबैभन्दा धनी दुई कम्पनीहरूले बालबालिकाको मस्तिष्कमा कसरी लत इन्जिनियर गरे भन्नेबारे भएको अदालतमा बताएका थिए ।
उनले सन् २०१५ को एक आन्तरिक इमेल प्रस्तुत गर्दै मेटाका सीईओ मार्क जुकरबर्गले प्रयोगकर्ताले प्लेटफर्ममा बिताउने समय १२ प्रतिशतले बढाउन निर्देशन दिएको उल्लेख गरेको देखाएका थिए । युट्युबका हकमा भने, बाल प्रयोगकर्तालाई लक्षित गरेर विज्ञापनबाट बढी आम्दानी गर्न खोजिएको आरोप लगाइएको छ । लानियरले व्यस्त अभिभावकलाई लक्षित गर्दै युट्युबले आफूलाई ‘डिजिटल बेबीसिटर’ का रूपमा प्रस्तुत गरेको आरोपसमेत लगाए ।
यता प्रतिवादी मेटा र युट्युबका वकिलहरूले भने (नाम नखुलाइएका व्यक्ति) को मानसिक समस्या सामाजिक सञ्जालका कारण नभई उनको व्यक्तिगत र पारिवारिक जीवनका अन्य समस्याबाट उत्पन्न भएको दाबी गरेका छन् । मेटाका वकिल पाउल स्मिटले उनको परिवारभित्रको उपेक्षा, शारीरिक तथा मानसिक दुव्र्यवहार र अभिभावकबाट हुने दुव्र्यवहारको सिकार भएको अदालतमा बताएका थिए । अदालतमा प्रस्तुत अभिलेखअनुसार उनले सानै उमेरदेखि थेरापी लिन थालेकी थिइन् र उनको परिवारमा घरेलु हिंसाको इतिहास रहेको उल्लेख गरिएको छ ।

यो मुद्दा करिब छ हप्ता चल्ने अपेक्षा गरिएको छ र यसले अमेरिकाभर यस्तै प्रकृतिका अन्य मुद्दामा गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ । सुनुवाइका क्रममा विज्ञ, पीडित परिवारका सदस्य, साथै मेटाका सीईओ मार्क जुकरबर्ग, इन्स्टाग्राम प्रमुख एडम मोसेरी र युट्युबका सीईओ नील मोहनले साक्ष्य दिने अपेक्षा गरिएको छ । साथै, सामाजिक सञ्जालको लतसम्बन्धी विषयमा पूर्व मेटा कर्मचारी तथा ह्विसलब्लोअरहरूको बयान पनि सुन्ने तयारी अदालतले गरेको छ ।

मुद्दाको नतिजाले हजारौं अन्य मुद्दामा क्षतिपूर्ति निर्धारणका लागि आधार तय गर्न सक्ने कानुनी विश्लेषकहरूको भनाइ छ । सुनुवाइको पहिलो दिन करिब सय जना दर्शक अदालत कक्षमा उपस्थित थिए, जसमा आफ्ना बालबालिका सामाजिक सञ्जाल कम्पनीहरूको एल्गोरिदम र डिजाइनका कारण मृत्यु भएको दाबी गर्ने अभिभावक पनि सहभागी थिए ।

यसबीच मेटा र युट्युबले संघीय कानुनअनुसार तेस्रो पक्षले पोस्ट गर्ने सामग्रीका लागि आफूहरू जिम्मेवार नहुने अडान दोहोर्याएका छन् । उल्लेखनीय रूपमा, स्न्यापच्याटको मातृ कम्पनी स्न्याप र टिकटकले गत महिना (नाम नाखुलायेका व्यक्ति) सँग सम्झौता गरिसकेका कारण अब यस मुद्दाका प्रतिवादी नहुने बताइएको छ ।

FACEBOOK COMMENTS