काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्रामले प्रयोगकर्ताले बनाएका मौलिक रिल्सको नक्कल रोक्न ‘कन्टेन्ट प्रोटेक्सन’ नामक नयाँ सुविधा ल्याउन थालेको छ ।
यसले इन्स्टाग्राम र फेसबुकमा मौलिक भिडियोको नक्कल खोजेर सम्बन्धित सर्जकलाई जानकारी दिनेछ । यो सुविधाले सर्जकले प्रणालीमा दर्ता गरेका भिडियोसँग अन्य भिडियोको दृश्य तुलना गर्छ ।
सर्जकले सुविधा सक्रिय गरेपछि नयाँ अपलोड गर्ने मौलिक भिडियो स्वतः सुरक्षाको दायरामा आउनेछन् । तर, सुविधा सुरु हुनुअघि अपलोड गरिएका भिडियो भने आफैँ थप्नुपर्नेछ ।
नक्कल भेटिएपछि भिडियोको दृश्य संख्या र पोस्ट गर्ने खाताका अनुयायीको विवरण हेरेर सर्जकले आवश्यक निर्णय लिन सक्नेछन् । नक्कल भेटिएपछि सर्जकले चार विकल्पमध्ये एउटा रोज्न पाउनेछन् ।
भिडियोको गतिविधि निगरानी गर्ने, इन्स्टाग्राम र फेसबुकबाट लुकाउने, मौलिक सर्जकको नाम उल्लेख गराउने वा आफ्नो दाबी छाड्ने विकल्प उपलब्ध हुनेछन् ।

भिडियो लुकाउँदा नक्कल गर्ने खातालाई प्रत्यक्ष जरिवाना भने लाग्ने छैन । यो सुविधा सबै प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छैन । योग्य सर्जकले इन्स्टाग्रामको व्यावसायिक ड्यासबोर्डमा गएर ‘कन्टेन्ट प्रोटेक्सन’ विकल्पमार्फत सुविधा सक्रिय गर्न सक्नेछन् ।

मौलिक सामग्री र खाताको विश्वसनीयताका आधारमा यसको पहुँच निर्धारण गरिनेछ । यसैबीच, मेटाले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी मूल भिडियोको दृश्य परिवर्तन गरिएका सामग्रीसमेत पहिचान गर्ने प्रविधिको परीक्षण गर्ने तयारी गरेको छ ।

मूल सर्जकको आवाज वा भनाइ उस्तै राखेर दृश्य मात्रै परिवर्तन गरिएका भिडियो पहिचान गर्ने यो सुविधा सुरुमा सीमित सर्जकसँग परीक्षण गरिनेछ।

बारम्बार यस्ता सामग्री बनाउने खाताको पहुँच सीमित गर्ने उपायबारे पनि मेटाले काम गरिरहेको छ ।