काठमाडौं । अर्थतन्त्रमा आएको सुस्तताको प्रभाव बीमा क्षेत्रमा परेको छ । सोही कारण बीमा पहुँच १.३ प्रतिशत बिन्दुले घटेको हो ।
नेपाल बीमा प्राधिकरणको अनुसार गत वर्षको साउनमा कम्पनीको दायारमा आएको म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहितको जनसंख्या ४४ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा ४२.७० प्रतिशतमा खुम्चिएको छ । म्यादी र लघुम्यादी जीवन बीमालेखसहितको बीमा दायरामा आएको जनसंख्या ३५.८६ प्रतिशत रहेको छ भने अघिल्लो साउनमा ३८.५० प्रतिशत रहेको थियो ।
चालु आवको साउनमा बीमा शुल्क २.९९ प्रतिशतले घटेको छ । साउनमा कम्पनीहरूले २२ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा गत आवको साउन महिनामा बीमा कम्पनीहरूले २३ अर्ब ५९ करोड २८ लाख रुपैयाँका व्यवसाय गरेका थिए ।
यो वर्षको साउनमा जीवन बीमा व्यापारमा ५.२६ प्रतिशत संकुचन आएको छ । गत आवको साउनमा जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६० करोड ६९ लाख बीमा शुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधिमा १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ मात्रै बीमा व्यापार गरेका छन् । साउन महिनामा कम्पनीहरूको नवीकरणमार्फत संकलन हुने बीमा शुल्क ९.०९ प्रतिशत घटेर १५ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ । कुल सक्रिय जीवन बीमालेखको संख्या २.२४ प्रतिशत घटेर १ करोड ३७ लाख कायम भएको छ ।
चालु आवको साउनमा निर्जीवन बीमा व्यवसाय ८.१८ प्रतिशत बढेर ४ अर्ब ३१ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवको साउनमा कम्पनीहरूले ३ अर्ब ९८ करोड ५९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । कम्पनीहरूको बीमालेख बिक्री दर पनि १२.८५ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवको साउनमा २ लाख १३ हजार ८२८ निर्जीवन बीमालेख बिक्री भएको थियो ।
बीमा क्षेत्रमा एक वर्षको अवधिमा साढे ५ सय जना कर्मचारी थपिएका छन् । अघिल्लो आवको साउनमा बीमा कम्पनीहरूमा कुल ११ हजार १५२ जना कर्मचारी थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा ५४० जना थपिएका छन् । योसँगै हाल बीमा क्षेत्रमा कुल ११ लाख ६९२ जना कर्मचारी आबद्ध छन् ।
निर्जीवन बीमा कम्पनीहरूमा ५.२७ प्रतिशत कर्मचारी बढेका छन् । अघिल्लो आवको साउनमा निर्जीवन बीमकसँग ५ हजार ५८० जना कर्मचारी रहेकोमा चालु आवको साउनमा ५ हजार ८७४ जना पुगेका छन् । जीवन बीमा कम्पनीमा पनि २४६ जना कर्मचारी थपिएर ५ हजार ८१८ पुगेका छन् ।
कम्पनीहरूले व्यवसाय विस्तारका लागि शाखा कार्यालयलाई विस्तार गरेका छन् । गत वर्षको साउनमा कम्पनीहरूको मुलुकभर २ हजार ७९९ वटा कार्यालय रहेकोमा चालु आवको सोही अवधिमा कुल २ हजार ९९२ वटा कार्यालय पुगेका छन् ।
FACEBOOK COMMENTS