काठमाडौं । ‘जोखिमहरू पार गर्दै, आत्मविश्वास सुनिश्चित गर्दै’ भन्ने नाराका साथ इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रालिले कम्पनी दर्ता भएको छोटो समयमै दुईदिने मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न गरेको छ । माघ २ र ३ गते होटेल रोयल सिङ्गी, दरबारमार्गमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यशालामा १४ वटा निर्जीवन इन्स्योरेन्समध्ये १२ इन्स्योरेन्स कम्पनी, २ रिइन्स्योरेन्स, इन्स्योरेन्स ब्रोकर कम्पनीहरू र सर्भेयरहरूको प्रतिनिधित्व गर्दै विभिन्न विभागमा काम गर्ने कर्मचारीहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम संस्थाकै पहिलो कार्यक्रम भए पनि भव्यसाथ सम्पन्न भएको थियो ।
कार्यक्रममा मुख्य अतिथिका रूपमा नेपाल बीमक संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यकारी प्रमुख चंकी क्षेत्री उपस्थित थिए । त्यस्तै विशेष अतिथिका रूपमा प्राडा फत्तबहादुर केसी, राजुरमण पौडेलको उपस्थिति थियो । प्राडा फत्तबहादुर केसी नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष हुन् भने राजुरमण पौडेल नेपाल बीमा प्राधिकरणका पूर्वकार्यकारी प्रमुख हुन् ।
मुख्य अतिथि चंकी क्षेत्री र आयोजक संस्थाका म्यानेजिङ डाइरेक्टर अञ्जन ढकालले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै दुईदिने तालिमको सुरूआत गरेका थिए ।
कार्यक्रममा प्रशिक्षकका रूपमा भारतबाटसमिरन लाहिरी आएका थिए ।समिरन लाहिरी जोन एनयूबाट अर्थशास्त्रमा स्नातकोत्तर एमए र एआईआईआई उपाधिधारी, हाल भारतको प्रिफर्ड पार्टनस इन्स्योरेन्स ब्रोकर्सका कार्यकारी निर्देशक हुन् । उनी विश्वकै ठूलो ब्रोकरिङ नेटवर्क ‘युनिसन स्टिडफास्ट’ (जर्मनी मुख्यालय) का सदस्य हुन् । उनले भारत, मौरिसस र नेपालमा करिब चार दशकसम्म बीमा उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनले भारत र नेपालका ठूला व्यावसायिक संस्थाहरूलाई परामर्शदाताका रूपमा पनि काम गरिरहेका छन् ।
दुईदिने कार्यक्रममा सहभागीहरूले मरिन इन्स्योरेन्सका नीतिहरू, अभ्यास र अन्तर्राष्ट्रिय मापदण्डहरूबारे गहन रूपमा छलफल गरेका थिए । साथै यस क्षेत्रमा देखिएका चुनौतीहरू र अवसरहरूको समीक्षा, मरिन इन्स्योरेन्सको आवश्यकता र जोखिम व्यवस्थापनका बारेमा पनि छलफल भएको थियो ।
कार्यक्रम इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेस प्रालिका कार्यकारी अध्यक्ष कुमारबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो । उनले मरिन इन्स्योरेन्सको महत्त्व र आवश्यकताबारे प्रकाश पार्दै आफूले सिकेको ज्ञानलाई बीमा क्षेत्रमा लागू गरेर नेपाली बीमा बजारलाई विश्वासिलो बनाउन सम्पूर्ण तालिम लिएका कर्मचारीहरूलाई अनुरोध गरे ।
FACEBOOK COMMENTS