काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ब्याजदर बढ्न थालेपछि बैंकर र व्यवसायीबीच विवाद बढेको छ ।
ब्याजदरको विरोधमा व्यवसायीले बजार नै बन्द गरेर आन्दोलन गर्नुका साथै औपचारिक रूपमा ज्ञापनपत्र बुझाए पनि बैंकरहरू बजारको अवस्थाले वृद्धि भएको ब्याज तत्काल घट्ने सम्भावना नरहेको बताउँछन् ।
बैंकहरूले ब्याजदर बढाएको भन्दै गत शुक्रवार सुर्खेत उद्योग वाणिज्य संघको आह्वानमा वीरेन्द्रनगर बजार बन्द गरिएको थियो । उनीहरूले संयुक्त संघर्ष समिति नै बनाएर आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । केन्द्रमा पनि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटेल एशोसिएशन अफ नेपाललगायत व्यावसायिक संघसंस्थाले औपचारिक रूपमा ब्याजदर वृद्धिको विरोध गरेका छन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय तरलता अभावसँगै बैंकहरूको पूँजीको लागत बढ्न गई कर्जाको ब्याजदर महँगो भएको बताउँछन् । ‘अहिलेको अवस्थामा बैंकहरूको लागत नै १० प्रतिशतले वृद्धि भएको छ,’ उनले भने, ‘यो अवस्थामा ब्याजदर बढ्नु स्वाभाविक हो । बैंकहरूले राष्ट्र बैंकको प्रावधानअनुसार नै ब्याजदर तोकेका छन् ।’ बैंकहरूमा कम लागतको स्रोत उपलब्ध नभएसम्म कर्जाको ब्याजदर घट्ने सम्भावना नरहेको उनले दाबी गरे ।
बैंकहरूले हरेक त्रैमासिक रूपमा कायम हुने आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्छन् । पुराना ऋणीको हकमा प्रिमियम परिवर्तन नभए पनि आधारदर वृद्धि हुँदा कर्जाको ब्याजदर बढ्छ ।
चालू आर्थिक वर्ष ९आव० को पहिलो त्रैमासमा बैंकको आधारदर बढेकाले ऋणको ब्याजदर महँगिएको छ । बैंकहरूले प्रकाशित गरेको सूचनाअनुसार असोजमा वाणिज्य बैंकहरूको औसत आधारदर नै करीब १० प्रतिशत पुगेको छ । यसमा बैंकहरूले ७ प्रतिशतसम्म प्रिमियम जोड्ने भएकाले बैंक कर्जाको ब्याजदर १७ प्रतिशतसम्म पुग्ने देखिएको छ । तर, अधिकांश बैंकहरूको आधारदर १० प्रतिशत नाघेको छ । यसैका कारण कर्जाको ब्याजदर महँगो भएको हो ।
छाता संगठनमार्फत भद्र सहमति गरी ६ महीनादेखि निक्षेपको ब्याजदर स्थिर राख्दै आएका बैंकहरूले असोजमा १० प्रतिशत विन्दुले बढाएका आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS