काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य विगत छ महिनादेखि निरन्तर बढिरहेको छ । हुन त भारतमाभन्दा नेपालमा पेट्रोल प्रतिलिटर ३० रुपियाँ सस्तो छ । नेपाली बजारमा लगातारको मूल्यवृद्धिले उपभोक्ता चर्को मर्कामा परेका छन् ।
पेट्रोलियम पदार्थको अस्वाभाविक रूपमा मूल्यवृद्धि गरिएको भन्दै विरोध हुँदै आएका छन् । नेपाल आयल निगमले भने मूल्यवृद्धि नभई समायोजन भएको जनाएको छ । मुुख्यतया तीनवटा प्रमुख कारणले गर्दा पेट्रोलियम पदार्थको मूल्य बढिरहेको निगमको दाबी छ ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनुको प्रमुख कारण अन्तर्राष्ट्रिय बजार नै हो । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२/८३ डलर पुगेको छ ।
गत वर्षको मङ्सिरमा प्रतिब्यारेल ४१ डलर थियो । एक वर्षमा दोब्बर भएको छ । उनले भने ‘अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिका साथै डलरको तुलनामा नेपाली रुपियाँको अवमूल्यनले पनि प्रभाव पारेको हुन्छ ।’ निगमका अनुसार हाल भइरहेको मूल्यवृद्धि होइन समायोजन हो । अन्तर्राष्ट्रिय मूल्यअनुसार स्वचालित मूल्यसूची लागूू गर्दा हाल पेट्रोल प्रतिलिटर १५२ रुपियाँ पर्छ ।
निगमले प्रतिलिटर ८३.४९ रुैियाँमा खरिद गरेको पेट्रोेललाई ५७.७३ रुैियाँ कर थपेर १३६ रुपैयाँमा बिक्री गरिरहेको छ । पेट्रोलमा भन्सार शुल्क प्रतिलिटर २५ रुपैयाँ, भन्सार सेवा शुल्क प्रतिलिटर ०.०३ रुपैयाँ, सडक भन्सार शुल्क ४ रुपैयाँ लिइन्छ । त्यस्तै पूर्वाधार विकास कर प्रतिलिटर १० रुपैयाँ, मूल्य स्थिरीकरण कोषमा १.१९ रुपैयाँ, वातारण शुल्क १.५० रुपैयाँ, मूल्य अभिवृद्धि कर १५.६५ रुपैयाँ लिँदै आएको छ ।
डिजेलमा प्रतिलिटर भन्सार शुल्क १२ रुपैयाँ, भन्सार सेवा शुल्क ०.०३ रुैियाँ, सडक सम्भार कर दुई रुपैयाँ, पूर्वाधार विकास कर १० रुपैयाँ लिइन्छ । मूल्य स्थिरीकरण कोषमा १.०१ रुपैयाँ वातावरण शुल्क १.५० रुपैयाँ र मूल्य अभिवृद्धि कर १३.६९ रुपैयाँसहित सम्पूर्ण कर प्रतिलिटर ४०.४१ रुपैयाँ लिँदै आएको छ ।
मट्टितेलमा भन्सार शुल्क १२ रुपैयाँ, भन्सार सेवा शुल्क ०.०३ रुपैयाँ, मूल्य स्थिरीकरण कोषमा १.१९ रुपैयाँ गरी प्रतिलिटर १३.२२ रुपियाँ कर उठाइएको छ । हवाई इन्धनमा भन्सार शुल्क २.१० रुपैयाँ भन्सार सेवा शुल्क ०।०३ रुपैयाँ, मूल्य स्थिरीकरण कोषमा १.०१ रुपैयाँ, मूल्य अभिवृद्धि कर ११.०५ गरी प्रतिलिटर १५.०२ रुपैयाँ कर लिइएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS