काठमाडौं । काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, नगरहरुबिचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कुटनीतिक साइनोका रुपमा स्थापित गराउनु पर्ने बताएकी छन् ।
विहिबार सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा र काठमाडौँ फेडरिसवर्ग भगिनी नागरिक समितिका पदाधिकारीहरु रामरोहन पन्त, सिर्जना सिथिखुसहितका पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएकी हुन् ।
उनले भनिन्– ’सहरहरुका बिचका साझा मुद्दाहरु पहिचान गरौँ । आपसी कार्यक्रम तय गरौँ । नागरिक कुटनीतिक साइनो निर्माण हुने अर्थपूर्ण सम्बन्धमा सक्रिय बनौँ । नागरिकलाई लाभ हुने कार्यक्रम दिगो र प्रभावकारी हुन्छन् ।’
भेटका क्रममा कापाराले, सिटी अफ फेडरिसवर्गका मेयर केरी डेभिनले कार्यवाहक प्रमुख डंगोललाई अमेरिकाको २५०औँ स्वतन्त्र दिवसका अवसर पारेर नगरले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पठाएको निमन्त्रणा प्रदान गरेका थिए । पत्रमा मेयर डेभिनले दुई नगरबिच फोहर व्यवस्थापन, वातावरणीय सुधार, युवा नेतृत्व विकास, सांस्कृतिक पर्यटन, विश्वविद्यालयका विद्यार्थीहरुका बिच सिकाइ आदान प्रदानका लागि आपसी कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरेका छन् । कापाराले सिस्टर सिटी इन्टरनेशनलको ७०औँ वार्षिकोत्सवका अवसरमा जुलाई २०२६ मा वासिङ्टनमा आयोजना हुने कार्यक्रममा निमन्त्रणा दिएका छन् ।
यी कार्यक्रमका बारेमा जानकारी दिँदै कापाराले, संयुक्त राज्य अमेरिकाका अधिकांश स्थानमा नेपाली समुदाय रहेको उल्लेख गर्दै नगर–नगर बिचको सम्बन्धमा यो समुदायलाई जोडेर आपसी कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरे ।

काठमाडौँ फेडरिसवर्ग भगिनी सम्बन्धका लागि २०७४ असोज २४ गते (१० अक्टोवर २०१७) हस्ताक्षर भएको थियो । यसका लागि २०७२ सालदेखि पत्र आदानप्रदान हुन थालेको थियो ।

FACEBOOK COMMENTS