काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले विगतका वर्षझैं यसवर्ष पनि काठमाडौँमा ‘अन्तर्राष्ट्रिय व्यापार मेला’ आयोजना गर्ने भएको छ ।
महासंघ आज पत्रकार सम्मेलन गर्दै यही चैत २ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा पाँचदिने अन्तर्राष्ट्रिय मेलाको आयोजना गर्न लागेको जनाएको हो । मेलामा कुल तीन सयभन्दा बढी स्टलमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने आयोजकले बताएको छ । महासंघका अनुसार मेलामा नेपाली हस्तकला र नेपालमा उत्पादित वस्तुहरुको प्रदर्शनी गरिनेछ ।
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने सशक्त माध्यम बनेको महासंघको दाबी छ । मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि एवं व्यवसायिक सूचना, कृषि उत्पादन, उर्जा, भवन तथा निर्माण, शिक्षा आदिका छुट्टाछुट्टै स्टल राखिनेछ ।
विभिन्न जिल्लाहरुमा आयोजना भएका मेलाहरुबाट छानिएका उत्कृष्ट स्टल तथा उत्पादनलाई मेलामा निःशूल्क स्टलहरु उपलब्ध गराइने महासंघले बताएको छ । मेलामा लागि चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानबाट सहभागी हुने अपेक्षा राखिएको महासंघले जनाएको छ ।
आगामी एक दशकभित्र मुलुकभित्र अर्थतन्त्र एक सय अर्ब अमेरिकी डलर पुर्याउने, अतिरिक्त २२ लाख मानिसलाई औपचारिक नीजि क्षेत्रमा रोजगारी सिर्जना गर्ने, व्यापार घाटा र अर्थतन्त्रको अनुपात आधा घटाउने लगायतका उद्देश्यले महासंघले ल्याएको भिजन पेपर २०२३ को सफल कार्यान्वयनमा समेत अन्तर्राष्ट्रिय व्यापार मेला सघाउ पुर्याउने विश्वास रहेको महासंघको दाबी छ ।
मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवर्द्धन तथा लगानीबारे छलफल हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार लगानीकर्ताहरुले अवलोकन गर्ने महासंघको अपेक्षा राखेको छ ।
वि.सं.२०५६ सालबाट महासंघले वार्षिक साधारणसभाको अवसरमा सञ्चालन गर्दै आएको छ । कोभिड १९ का कारण महासंघले गएको दुई वर्ष भने मेलाको आयोजना गरेको थिएन ।
FACEBOOK COMMENTS