काठमाडौँ । देशैभर ब्रोन्डब्यान्ड इन्टरनेट विस्तार गर्न सञ्चालित विभिन्न परियोजनामा साढे सात अर्ब रुपियाँभन्दा बढी खर्च भएको छ ।
ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने, इन्टरनेट जडान गर्ने र निश्चित समयसम्मका लागि मर्मतसम्भार सेवासमेत दिने गरी सञ्चालित ती परियोजनामा करिब सात अर्ब ५४ करोड रुपियाँ खर्च भइसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । दूरसञ्चार पूर्वाधार निर्माण गर्ने उद्देश्यका साथ प्राधिकरण मातहतमा रहेको ग्रामीण दूरसञ्चार विकास कोषमार्फत उक्त खर्च भएको हो ।
उक्त कोषअन्तर्गत चारवटा परियोजना सञ्चालित छन्, जसमध्ये ७४ जिल्लाका सबै स्थानीय तहमा रहेका कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड नेटवर्क निर्माण गर्ने र इन्टरनेट जडान गर्ने परियोजना सम्पन्न भइसकेको छ ।
यस परियोजनाका लागि कोषमार्फत पाँच अर्ब ६७ करोड ४३ लाख रुपियाँ विनियोजन भएकामा असोज मसान्तसम्म पाँच अर्ब २९ करोड ८७ लाख रुपियाँ सेवा प्रदायकलाई भुक्तानी दिइसकेको प्राधिकरणले जनाएको छ ।
यो परियोजनाअन्तर्गत सम्बन्धित १६ हजार २०८ सार्वजनिक निकायमा इन्टरनेट जडान भइसकेको छ । प्राधिकरणबाट अनुमतिपत्र लिएका सेवा प्रदायकलाई प्रतिस्पर्धामार्फत विभिन्न प्याकेजमा ब्रोडब्यान्ड नेटवर्क निर्माण र जडानको जिम्मेवारी दिइएको थियो ।
यो परियोजनाअन्तर्गत जडान भएको इन्टरनेट सम्बन्धित सार्वजनिक निकायले दुई वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउनेछन् । त्यस्तै सर्वसाधारणले काठमाडौँमै प्रचलित मूल्यमा उक्त इन्टरनेट जडान गर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ ।
कोषअन्तर्गत नै सञ्चालित मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग परियोजनाका लागि कोषबाट दुई अर्ब नौ करोड ३८ लाख रुपियाँ खर्च भइसकेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS