काठमाडौं । विगत पाँच बर्षदेखि प्राइभेट कम्पनीको रूपमा इन्टरनेट सेवा प्रदान गर्दै आएको लुप नेटवर्क प्रालि पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । कम्पनीले दुई वर्षभित्र सर्वसाधारणका लागि समेत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने गरी कम्तीमा एक अर्ब रूपैयाँ लगानी गर्ने योजना अघि बढाएको छ ।
कम्पनीले यस्तो लगानी पाँच बर्षभित्र गरिसक्ने बताएको छ । ‘हामीले आक्रामक बजार विस्तारको रणनीतिका आउँदो पाँच वर्षभित्र नम्बर वान आईएसपी (इन्टरनेट सेवा प्रदायक) बन्ने लक्ष्य लिएका छौं,’ लुप नेटवर्कका अध्यक्ष सतिश पोखरेलले भने, ‘अहिलेको ग्राहक आधारलाई पनि गुणात्मक रूपमा वृद्धि गरी पाँच बर्षभित्र एकदेखि डेढ लाख ग्राहक आधार पुर्याउने लक्ष्य छ ।’
अहिले लुप नेटवर्कको फाइबरनेट सर्भिस काठमाडौंसहित नवलपरासी र धनुषालगायत स्थानमा विस्तार भएको छ । यी जिल्लामा लुप नेटवर्कको ठूलो उपस्थिति रहेको कम्पनीको दाबी छ । त्यस्तै पूर्वमा विस्तार हुने क्रममा रहेको कम्पनीले बताएको छ ।
प्रदेश ५ को बर्दघाटदेखि भुमई हुँदै परासी र आसपासका क्षेत्र, भैरहवा, प्रदेश २ को ढल्केबर, जनकरपुर, जलेश्वरमा लुप नेटवर्कको राम्रो उपस्थिति छ । पूर्वमा विराटनगर, दमक, उर्लाबारीलगायत क्षेत्रमा पनि सेवा विस्तार भइरहेको छ । शहरभन्दा ग्रामीण क्षेत्रमा बढी सेवा दिइरहेकाले अब शहर र ग्रामीण क्षेत्र दुवैमा प्रतिस्पर्धी ढङ्गले सेवा विस्तार गरिने अध्यक्ष पोखरेलको भनाइ छ ।
इन्टरनेट सेवासँगै नेट टीभीसमेत उपलब्ध गराउँदै आएको लुप नेटवर्कले आगामी दिनमा आफ्नै टेलिभिजन सेवाको आधार तयार गर्ने गृहकार्य पनि गरिरहेको छ । त्यो नहुँदासम्म नेट टीभीसँगको साझेदारीमा कम्पनीले टेलिभिजन सेवालाई निरन्तरता दिने बताएको छ ।
अझै पनि फिक्स ब्रोडब्याण्ड इन्टरनेट सेवाको पहुँच झण्डै ८०–८५ प्रतिशत विस्तार हुन बाँकी रहेकाले बजार विस्तार गरी नम्बर १ हुन हुन लुप नेटवर्कलाई समस्या नपर्ने कम्पनीको भनाइ छ । शहरी क्षेत्रमा ग्राहक तान्न केही प्रतिस्पर्धा भए पनि राम्रो सेवा प्रतिस्पर्धी मूल्यमा दिने हो भने बजार विस्तारमा समस्या नहुने कम्पनीको दृष्टिकोण छ ।
नयाँ ढङ्गले अघि बढ्ने क्रममा लुप नेटवर्कले नयाँ प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको बताइएको छ । कम्पनीले हुवावे, जेटीई र नोकियामध्ये कुनै एक प्रविधिको डिभाइस प्रयोग गर्ने छ । अहिलेको प्रतिस्पर्धी समयमा उच्च गुणस्तरको प्रविधिमार्फत कम्पनी अघि बढ्ने बताइएको छ ।
FACEBOOK COMMENTS