काठमाडाैँ। मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।
एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो । सार्वजनिक सूचनाअनुसार मंसिरका लागि पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्यले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर केही बढाएको छ । ८ बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर स्थिर राखेका छन् ।
स्थिर राख्नेमा नेपाल एसबीआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन र एभरेस्ट छन् । ११ बैंकले भने घटाएका छन् । घटाउनेमा कृषि विकास, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सिटिजन्स, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनएमबी र एनआईसी एसिया छन् ।
मंसिर महिनामा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनआईसी एसिया बैंकले ६.७९ प्रतिशत दिनेछ । कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ प्रतिशत कायम भएको थियो ।
लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।
राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।
प्रणालीमा अधिक तरलताको अवस्था रहेको र कर्जा प्रवाह हुन नसकेपछि बैंकले विगत १ वर्ष बढी समयदेखि लगातार जसो ब्याजदर घटाइरहेका छन् । अहिले ब्याजदर एकल अंकमा आइसकेको छ । ब्याजदर निरन्तर घट्दा सेयर बजारका लगानीकर्तालाई भने लाभ हुने देखिएको छ ।
FACEBOOK COMMENTS