काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका–२, मालका, ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनाको अनुसन्धान गर्न बनेको समितिले कानुनी जटिलता रहेको उल्लेख गर्दै बुझाएको प्रतिवेदनमा एसएसबीका जबानले तुइन खुस्काएको किटान गरिएको छैन।
पीडित र प्रत्यक्षदर्शीको बयान हुँदाहुँदै पनि समितिले घटनास्थलमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० का जबानको उपस्थिति रहेको मात्रै उल्लेख गर्दै गोलमटोल प्रतिवेदन बुझाएको छ। ‘भारतीय सुरक्षाकर्मीको उपस्थितिमा घटना भएको देखिएकाले अनुसन्धान गर्नुपर्ने’, प्रतिवेदनमा उल्लेख छ। गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उक्त घटनाबारे भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्नुपर्ने उल्लेख छ।
विज्ञप्तिमा घटनाका बेला भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेको तर उनीहरूले तुइन काटेको वा नकाटेको भन्नेबारेमा प्रतिवेदनमा केही उल्लेख गरिएको छैन। घटनाबारे छानबिन गर्न गठित समितिले एक महिनासम्म पनि प्रतिवेदन बुझाउन आलटाल गरेको भन्दै आलोचना भएको थियो। पटकपटक म्याद थपेको समितिले मंगलबार साँझ गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो। घटनामा भारतीय सुरक्षाकर्मीको संलग्नताबारे प्रतिवेदन मौन छ।
‘उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएकाले निजहरूको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न, जयसिंह धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न तथा आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्था गर्नुपर्ने’, विज्ञप्तिमा लेखिएको छ।
प्रत्यक्षदर्शीले एसएसबीका जबानले तुइन खुस्काइदिँदा जयसिंह नदीमा खसेर बेपत्ता भएको बयान दिएका थिए। बयानका आधारमा प्रतिवेदनमा घटनामा एसएसबीका जवानहरूको संलग्नता भएको किटान गर्नुको साटो उपस्थिति भनेर गोलमटोल पारिएको छ। प्रतिवेदनमा भारतीय भूमिमा भएको घटनाले कतिपय सन्दर्भमा अनुसन्धानमा जटिलता रहेको उल्लेख गरिएको हो। एक महिनापछि बुझाइएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको स्रोतको दाबी छ। गृहमन्त्रालयले घटनाको छानबिन गर्न मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो। प्रतिवेदनमा छानबिनमा भारतीय पक्षले असहयोग गरेको भन्नेचाहिँ उल्लेख गरिएको छ।
‘छानबिन समितिलाई भारतीय पक्षले सहयोग गरेन, तुइनको लट्ठा काटेको भन्ने स्पष्ट देखिएन तर प्रत्यक्षदर्शीहरूले एसएसबीका जबानले लट्ठा चुँडाएको बताएका छन्, उनीहरूको बयान जस्ताको तस्तै राखिएको छ’, स्रोतले भन्यो। भारतीय पक्षले असहयोग गरेकै कारण प्रतिवेदन भनेजस्तो बनाउन नसकिएको समितिका एक सदस्यले बताए। ती सदस्यका अनुसार यस विषयमा भारतीय पक्षले कुरै गर्न चाहेन। स्थलगत अनुगमन, पीडित परिवार र प्रत्यक्षदर्शीसँग बयान लिएर समितिले प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा ड्रोन उडाएर जयसिंहको खोजी गर्न भारतीय पक्षले असहयोग गरेको र आवश्यक सोधपुछ गर्दा पनि मौन बसेकाले प्रमाण जुटाउन कठिन भएको उल्लेख छ।
नेपाली पक्षको दाबीलाई भारतीय पक्षले अस्वीकार गर्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर घटनामा एसएसबीको संलग्नता नभएको जिकिर गरेको थियो।प्रत्यक्षदर्शीले छानबिन समितिका सदस्यसँग एसएसबीका जवानले तुइन चुँडाएर भागेको बताएका थिए। घटनाको स्थलगत निरीक्षण, अवलोकन, अनुसन्धान र प्रत्यक्षदर्शीसँगको सोधपुछ एवं बयानलाई प्रतिवेदनमा जस्ताको तस्तै राखिएको आजको नागरिक दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS