काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानीसम्बन्धी एसियाकै अगुवा संस्था सर्वना जुरोङ ग्रुपका कार्यकारी प्रमुख सिन चाओसहितको टोलीले नेपालको पूर्वाधार र सहरी विकासका विविध क्षेत्रमा लगानी विस्तार गर्ने विषयमा आज छलफल गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा कार्यकारी प्रमुख सिनले नेपालमा ऊर्जा, पर्यटन, रेल्ले, सुरूङमार्ग, स्मार्ट सिटी, एक्प्रेस–वे आदि क्षेत्रमा परियोजना पहिचान, प्रस्तावना तयारी र लगानीको इच्छा प्रकट गरेको हो । सिङ्गापुुर सरकारको स्वामित्वमा रहेको विश्वव्यापी लगानीसम्बन्धी निकाय तेमासेकअन्तर्गतको उक्त कम्पनीले हाल नेपालमा कार्यालय स्थापना गरेर काम सुरू गरिसकेको छ ।
भेटका अवसरमा प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने क्रममा नेपालले विश्वका प्रतिष्ठित लगानीकर्तासँग सहयोग र सहकार्यका लागि आवश्यक सहजीकरणको वातावरण सृजना गर्ने बताए । सिङ्गापुर विश्वमै छिटो विकास भएको मुलुुकमा पर्ने जनाउँदै उनले सर्वना समूहको अनुुभव र विज्ञता नेपालको विकास र उन्नतिका लागि उपयोगी हुनसक्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले पैसाले मात्र विकास नहुने तर पैसा आर्जनका लागि विकास आवश्यक भएकामा आफूहरू स्पष्ट रहेकाले नेपाललाई विकसित बनाउने अठोटका साथ लागिरहेको जनाउनुुभयो । “म सरकारलाई वास्तविक रूपमा जनताको सरकारका रूपमा विकसित गर्न चाहन्छुु । हामी भ्रष्टाचारका लागि कुनै काम गर्दैनौँ । देशलाई विकसित र जनतालाई सुखी बनाउनका लागि काम गर्छौँ”, प्रधानमन्त्री ओलीले भने, “तपाईँहरूजस्ता विश्वव्यापी संस्थालाई लगानी विस्तार गर्नका लागि के–कस्तो कानुनी र संरचनात्मक परिवर्तन आवश्यक छ, त्यो गर्न सरकारका तर्फबाट हामी तयार हुनेछौँ ।”
FACEBOOK COMMENTS