काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ ।
उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो ।
यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ ।
विभागका वैदेशिक लगानी शाखा प्रमुख शङ्करसिंह धामीले विदेशी लगानीको सीमा घटाइएको, विदेशी नागरिकलाई भिसामा कडाइ गरिएको र विश्वभर देखिएको आर्थिक सङ्कटका कारण लगानी प्रतिबद्धता घटेको बताए । यो पाँच महिनाको अवधिमा वैदेशिक लगानीका परियोजनाको सङ्ख्यामा धेरैले नघटे पनि लगानी प्रतिबद्धता रकम भने आधाभन्दा बढीले कमी भएको उनले जानकारी दिए ।
गत असोज अन्तिमतिर सरकारले विदेशी लगानीको न्यूनतम सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँमा झारेको छ । लगानीको न्यूनतम सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
विभागका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा विदेशी लगानीमा ९१ वटा साना उद्योग, १९ मझौला र एउटा ठूलो उद्योग दर्ता भएका छन् । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवामूलक र पर्यटन परियोजनामा आएको धामीले जानकारी दिए ।
विभागका अनुसार पाँच महिनामा उत्पादनमूलक परियोजनामा सात, पर्यटनमूूलक ४७, सेवामूलक ५२, सूचना प्रविधिमा आधारित तीन र पूर्वाधारको एक परियोजनामा लगानी प्रतिबद्धता आएको छ । ती परियोजनाबाट छ हजार ५०९ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।
यो पाँच महिनाको अवधिमा ७५३ लगानीकर्ता, ८० प्रतिनिधि, १९७ जना आश्रित व्यक्तिलाई बिजनेस भिसा सिफारिस गरिएको विगागले जनाएको छ ।
प्रतिबद्धताअनुसार विदेशी लगानी नभित्र्याएपछि विदेशी नागरिकलाई बिजनेस ९व्यावसायिक० भिसामा कडाइ गरेको छ । पछिल्लो समय विदेशी नागरिकले बिजनेस भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानीका लागि स्वीकृत लिने गरेको विभागको ठम्याइ छ ।
यसैबीच सरकारले विदेशी लगानीका कम्पनीलाई प्रतिबद्धताअनुसारको लगानी भित्र्याउन सहजीकरण गर्ने भएको छ । विदेशी लगानीकर्ताले उद्योग विभागमा प्रतिबद्धता जनाएअनुसार पूरा लगानी ल्याउन सेयर खरिद बिक्री, लाभांश प्राप्तिलगायतका विषयमा समस्या देखिएको छ । अहिले यही समस्या हटाउने तयारी भएको विभागले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS