काठमाडौं । हालै अमेरिकाको लस एन्जलस सहरमा भएको हिंसात्मक झडप र दङ्गाको क्रममा दङ्गाकारीहरूले एप्पल स्टोरबाट ठूलो सङ्ख्यामा आईफोनहरू चोरेका थिए । तर, चोरी भएका आईफोनहरूले चोरलाई चेतावनी दिन थालेका छन् ।
ती फोनहरूको स्क्रिनमा लेखिएको छ, ‘कृपया फोन एप्पल स्टोरमा फिर्ता गर्नुहोस् । यो उपकरण लक गरिएको छ र ट्र्याक गरिएको छ । स्थानीय प्रहरीलाई जानकारी गराइएको छ ।’
यो घटना लस एन्जलसको सहरी क्षेत्रमा भएको थियो । जहाँ आप्रवासीहरूमाथि कारबाहीको विरोधमा प्रदर्शन भएको थियो । तर, केही घण्टामै विरोध हिंसात्मक भयो र पसलहरूमा तोडफोड र लुटपाट हुन थाल्यो ।
एप्पलले पहिले नै आफ्नो स्टोरहरूमा राखिएका डेमो आईफोनहरूमा विशेष सफ्टवेयर राखेको छ । यो सफ्टवेयरले फोन चोरी हुनेबित्तिकै डिभाइस लक गर्छ, ट्र्याक गर्न थाल्छ र चेतावनी सन्देश देखाउँछ । रिपोर्टअनुसार एप्पलले यो सुरक्षा सुविधा स्टोरमा राखिएका डेमो फोनहरूको लागि मात्र बनाएको छ । यो सुविधा सामान्य ग्राहकहरूको फोनमा उपलब्ध छैन ।
स्टोरबाट चोरी रोक्न एप्पलले वर्षौंदेखि यो प्रविधि प्रयोग गर्दै आएको छ । स्टोरबाट डेमो फोन निकाल्नेबित्तिकै यो स्वतः लक हुन्छ र ट्र्याकिङ सुरू हुन्छ ।
यी फोनहरूको चोरीसँग सम्बन्धित धेरै भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । यसमा केही मानिसहरूले एप्पल स्टोरबाट फोनहरू चोरेका थिए, तर फोन अन गर्नेबित्तिकै स्क्रिनमा चेतावनी देखा पर्न थाल्यो र फोनले काम गर्न छोड्यो ।
अवैध आप्रवासीहरूविरुद्ध जारी कारबाहीको विरोधमा चोरी र लुटपाटका घटनाहरू निरन्तर रिपोर्ट गरिएका छन् । मङ्गलबार नकाबधारी दङ्गाकारीहरूले एक मलमा रहेको जारा स्टोरमा तोडफोड र लुटपाट गरेको रिपोर्ट छ ।
FACEBOOK COMMENTS