काठमाडौं । बंगलादेश सरकारले इन्डियन प्रिमियर लिग (आइपिएल) को प्रसारणमा लगाइएको प्रतिबन्ध हटाएको छ ।
सूचना तथा प्रसारण मन्त्री जहीर उद्दीन स्वापनले खेललाई राजनीतिबाट अलग राख्नुपर्ने भन्दै अब प्रसारणमा कुनै रोक नरहेको स्पष्ट पारेका हुन् ।
उनले लिगको प्रसारणका लागि हालसम्म कुनै टेलिभिजन च्यानलले आवेदन नदिएको पनि बताए । यदि कुनै च्यानलले प्रसारण अनुमति मागेमा त्यसलाई सकारात्मक रूपमा विचार गरिने उनले जानकारी दिए ।
यसअघि बंगलादेशका खेलाडी मुस्तफिजुर रहमानलाई कोलकाता नाइट राइडर्सले टोलीबाट बाहिर गरेपछि त्यतिबेलाको सरकारले प्रसारणमा प्रतिबन्ध लगाएको थियो ।
युवा तथा खेलकुद राज्यमन्त्री अमीनुल हकले पनि अघिल्लो अन्तरिम सरकारले यस्तो निर्णय गरेको बताएका थिए र नयाँ सरकारले यसबारे पुन: समीक्षा गर्ने संकेत दिएका थिए ।

कोलकाता नाइट राइडर्सले जनवरी ३ मा मुस्तफिजुरलाई टोलीबाट हटाएको थियो । बंगलादेशमा अल्पसंख्यक हिन्दूमाथि भइरहेको हिंसाको विषयमा चर्किएको विवादबीच उनलाई टोलीबाट हटाउन माग उठेको थियो । त्यसपछि भारतीय क्रिकेट नियन्त्रण बोर्डले पनि सम्बन्धित टोलीलाई उनलाई बाहिर राख्न निर्देशन दिएको थियो ।

FACEBOOK COMMENTS