काठमाडौं । ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले सर्वसाधारणहरूका साधारण शेयर (आईपीओ) निष्कासन प्रयोजनार्थ नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
प्रतिशेयर अंकित मूल्य एक सय रूपैयाँ दरका दस लाख कित्ता साधारण शेयरका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङलाई नियुक्त गरेको हो ।
बुधबार एक कार्यक्रमका बीच नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष जगन्नाथ ज्ञवालीले उक्त निष्कासित शेयरका लागि निष्कासन तथा बिक्री प्रबन्धक सेवा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरे ।
नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड नेपाल एसबीआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभूति सेवा, हितग्राही खाता सञ्चालनसम्बन्धी सेवा, संस्थागत परामर्शसम्बन्धी सेवा तथा शेयर रजिष्ट्रारसम्बन्धीद सेवा प्रदान गर्दै आइरहेको छ ।
ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेड काठमाडौं महानगरपालिका-१६, ठमेलमा आफ्नै स्वामित्वको जग्गा एवं सुविधासम्पन्न भवनमा चार तारा स्तरको होटेल ‘रमदा इन्कोर काठमाडौं ठमेल’ को नामबाट विगत ३ वर्षदेखि सञ्चालन हुँदै आएको छ । यस होटेलले हाल ९० वटा कोठामार्फत आन्तरिक तथा बाह्य पर्यटक/अतिथिहरूलाई सेवा प्रदान गरिरहेको छ । यस होेटेलले हङकङस्थित अन्तर्राष्ट्रिय कम्पनी वुइनधाम होटल एसिया प्यासिफिक कम्पनी लिमिटेडसँग प्रविधि हस्तान्तरण सम्झौता गरेको र रमदा इन्कोर काठमाडौं ठमेल नामक ट्रेडमार्क प्रयोग गर्ने गरी उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको छ ।
अमेरिकाको न्यु जर्शी शहरमा मुख्य कार्यालय रहेको विश्वस्तरीय चेन होटेल कम्पनी वुइनधाम होटल्स् एण्ड रिसोर्ट अन्तर्गत संसारभरि ९ हजार १०० भन्दा बढी होटेल तथा रिसोर्टहरू सञ्चालनमा रहेका छन् । वुइनधाम होटल्स एण्ड रिसोर्टअन्तर्गत हाल रहेका २५ वटा ब्राण्डहरूमध्ये रमदाअन्तर्गत डिसेम्बर ३१, २०२२ सम्म ६३ देशमा ८५१ वटा होटेलहरू सञ्चालनमा रहेका छन् ।
FACEBOOK COMMENTS