काठमाडौं । सिटी होटल लिमिटेडले सर्वसाधारणका लागि वैशाख २५ गतेदेखि सार्वजनिक निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरण वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो ।
पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकाले कम्पनीले छिटो अवधिसम्म मात्र आईपीओ विक्री गर्न लागेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि बुधवारसम्म ६ लाख ५७ हजार ४६१ जनाले ७४ लाख १३ हजार ४१० कित्ता शेयर माग गरेका छन् । जुन मागभन्दा ५ दशमलव ४७ गुणा बढी आवेदन हुन आउछ ।
कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाखको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न अनुमति पाएको थियो ।
वैदेशिक रोजगारीमा रहेको नेपालीमा शेयर बाँडफाँट गरी बाँकी रहेको शेयरमध्ये पनि ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । यी वाहेक बाँकी १३ लाख ५५ हजार ९४० कित्ता शेयर भने सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको हो ।
सर्वसाधारणले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखाकार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
अधिकृत पूँजी २ अर्ब रहेको कम्पनीको जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड ६६ लाख छ । संस्थापक तर्फबाट कम्पनीमा जारी पूँजीको ९० प्रतिशत शेयर चुक्ता भएको हो । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख कायम हुनेछ ।
यस कम्पनीले होटल तथा रेष्टुरेष्ट सञ्चालक गर्ने गरी २०७२ साल चैत १६ गते नेपाल सरकार, उद्योग विभागबाट स्वीकृति प्राप्त गरेको थियो । हाल होटल तथा रेष्टुरेन्ट सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक संरचनाहरू निर्माण भैसकेका छन् । कम्पनीले काठमाडौंको सोल्टिमोडामा पाँच तारे होटल ह्यात प्यालेस सञ्चालनमा ल्याएको छ ।
यस कम्पनीको स्वामित्वमा रहेका ३ ओटा भवनमध्ये एकमा होटलको भवन , दोस्रोमा ब्याङ्क्वेट हल र तेस्रोमा अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको छ । अपार्टमेन्ट व्यवसायका लागि निर्माण गरिएको पाँचौदेखि चौधौं तलासम्मको दशओटा अपार्टमेन्टहरू विक्री भैसकको कम्पनीको भनाई छ ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी १३ करोड २४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनी ८ दशमलव शून्य ९ प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ ७९ दशमलव ०४ रहेको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ भने ८७ दशमलव ८३ रहेको छ ।
FACEBOOK COMMENTS