काठमाडौं । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १ लाख २१ हजार ८६८ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ हजार १८६ कित्ता आईपीओ विक्री गरेको थियो ।
आयोजना प्रभावित स्थानीयमा जेठ १९ गतेदेखि असार ५ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १९ गतेदेखि असार १ गतेसम्म विक्री गरिएको उक्त आईपीओ असार ११ गते बाँडफाँट गरिएको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका आवेदकहरूमा सम्पूर्ण कित्ता आईपीओ बाँडफाँट गरिएको कम्पनीको भनाई छ ।
कम्पनीले दिएको जानकारी अनुसार स्थानीयतर्फ १० देखि ३५० कित्तासम्म माग गर्ने १ हजार ६२ जना आवेदकलाई माग बमोजिम ६८ हजार ८३० कित्ता, ४०० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १४० जना आवेदकलाई ३७० कित्ताका दरले ५१ हजार ८०० कित्ता आईपीओ बाँडफाँट गरिएको छ । त्यस्तै ४०० देखि १ हजार कित्तासम्म आवेदन दिने १२३ जना आवेदकलाई गोलप्रथाको माध्यमबाट १० कित्ताका दरले १ हजार २३० कित्ता आईपीओ बाँडफाँट गरी बाँकी रहेको ८ कित्ता शेयर थप एक एक कित्ताका दरले ८ जनामा बाँडफाँट गरिएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री गरिएको आईपीओ भने १० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १ हजार २१८ जनालाई १० कित्ताका दरले गोलाप्रथाको माध्यमाबाट १२ हजार १८० कित्ता आईपीओ बाँडफाँट गरी बाँकी रहेको ६ कित्ता आईपीओ थप एक कित्ताका दरले ६ जना आवेदकमा बाँडफाँट गरिएको हो । पहिलो चरणको आईपीओ बाँडफाँट गरेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्नेछ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
यस कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ साल असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत रू। २४ करोड ७५ लाख ५७ हजार ३३१ रहेको छ भने प्रतिमेगावाट लागत रू। २४ करोड ८० लाख ५३ हजार ४३७ रहेको छ ।
FACEBOOK COMMENTS