काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले साउन १० गतेसम्म यो आईपीओ विक्री खुला गर्ने भएको हो ।
जारी पूँजी ४ अर्बको ३० प्रतिशतले हुन आउने रू। १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १५ गते अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्रा १०० मूल्यमा प्रिमियम वापत् १५७ थप गरी प्रतिकित्ता २५७ मा सर्वसाधारणा लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो । कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा १० प्रतिशत दरको १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।
कुल कित्ता शेयरमध्ये यो वाहेक ५ प्रतिशत दरको ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ६ लाख कित्तानै कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । कर्मचारीहरूका लागि भने प्रतिकित्ता १०० अंकित मूल्यमै शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । बाँकी ९६ लाख कित्ता आईपीओ भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउनेछ ।
कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।
यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ ।
साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल भदौ १६ गतेदेखि यस कम्पनीले व्यवसाय सुरु गरेको हो । यस कम्पनीमा तत्कालिन रिलायबल डेभलपमेन्ट बैंक, साविक सेञ्चुरी कमर्सियल बैंक तथा नेपालका प्रतिष्ठि उद्योगी, व्यवसायी, बैंकर, अर्थशास्त्री लगाएतको लगानी रहेको छ ।
रजिष्टर्ड कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहेको कम्पनीले हाल ८२ ओटा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष ०७८र७९ सम्मको वास्तविक विवरण अनुसार कम्पनी रू। ७३ करोड ९१ लाख सञ्चित नाफामा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू। २४ दशमलव ४६ र प्रतिशेयर नेटवर्थ रू। १६२ दशमलव २९ रहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार भने कम्पनीले रू। १ अर्बभन्दा बढी सञ्चित नाफा गरेको छ ।
FACEBOOK COMMENTS