काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आजदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असार २४ गतेदेखि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू। १६ थप गरी प्रतिकित्ता रू. ११६ मा आईपीओ जारी गरेको हो । आयोजना प्रभावित स्थानीयमा जारी पूँजी रू. ५७ करोड २० लाख ६४ हजार ७०० को १० प्रतिशत अर्थात रू. ५ करोड ७२ लाख ६ हजार ५०० बराबरको ५ लाख ७२ हजार ६५ कित्ता आईपीओ विक्री गरेको हो ।
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं। १३, १४, २६ र २७ ९साविकको पोखरा उप महानगरपालिका वडा नं। १३, १४, १८, २२ र लेखनाथ नगरपालिका वडा नं। २, ३, ४, ५, ६ र ७० का स्थानीय वासिन्दाहरुले आवेदन दिन सक्नेछन् । त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि विक्री गरिने शेयरको १० प्रतिशतले हुन आउने रू। ८५ लाख ८१ हजार १०० बराबरको ८५ हजार ८१० कित्ता शेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा छिटोमा साउन ७ गतेसम्म विक्रीमा रहनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
