काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीले रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित स्थानीयका लागि सेयर निष्कासन गरेको थियो । आयोजना प्रभावित स्थानीयका लागि भने आवेदन दिने समय थपिएको छ ।
स्थानीयले साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले असार २८ गतेदेखि आईपीओ निष्कासन गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरमा आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि जारी गरेको छ । उक्त सेयरमा ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा नं १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाकोे भिमफेदी गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ तथा इन्द्र सरोपर गाउँपालिकाको वडा नं ३ का स्थानीय बासिन्दाले पनि यसमा आवेदन दिन सक्नेछन् ।
१ लाख ३६ हजार ३६४ कित्ता सेयर वैदेशिक रोजगारीका रहेका नेपालीका लागि निष्कासन गरेको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु क्यापिटलको कार्यालय, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
FACEBOOK COMMENTS