काठमाडौं । सन नेपाल लाइफ इन्सोरेन्सको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा विक्री गरेको आईपीओ भदौ १५ गते विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय ठमेल, काठमाडौंमा बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओ भाग्यमानी ७ लाख ६८ हजार जना भाग्यमानी आवेदकहरूले मात्र १० कित्ताका दरले हात पारेका छन् । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्य समेत प्रतिकित्ता २३९ रुपैयाँमा ७६ लाख ८० हजार कित्ता आईपीओ विक्री गरेको हो । सर्वसाधारणमा उक्त आईपीओ साउन ३२ गतेदेखि भदौ ४ गतेसम्म सार्वजनिक निष्कासन गरिएको थियो ।
विक्री प्रबन्धकले दिएको जानकारी अनुसार कम्पनीको आईपीओ खरीदका लागि तोकिएको अवधिसम्म १४ लाख ६६ हजार ८६२ जनाको आवेदन परेको थियो । यी आवेदकहरूबाट १ करोड ६३ लाख ५८ हजार २१० कित्ता शेयर माग भएको विक्री प्रबन्धकको भनाई छ । यी मध्ये रितपूर्वक नभएको भन्दै ६ हजार ८०१ जनाको आवेदन रद्द भएको छ । रितपूर्वक आवेदन दिएका १४ लाख ६० हजार ६१ जनालाई गोलाप्रथाको माध्यमाबाट भएको बाँडफाँटमा सहभागी गराईएको थियो ।
कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानीकोषहरूमा आईपीओ बाँडफााट गरिसकेको छ । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
सर्वसाधारणतर्फको कुल कित्ता आईपीओमध्ये १० प्रतिशत दरको ९ लाख ६० हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा , ५ प्रतिशत दरको ४ लाख ८० हजार कित्ता सामूहिक लगानीकोषहरू र ४ लाख ८० हजार कित्ता कम्पनीका कर्मचारीहरूमा यस अघिनै बाँडफाँट गरिएको हो । कर्मचारीहरूमा भने प्रतिकित्तँ १०० रूपैयाँ अंकित मूल्यमै आईपीओ बाँडफाँट गरिएको जानकारी विक्री प्रबन्धकले दिएको छ ।
नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ असोज ६ गतेदेखि सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीले २९ शाखा कार्यालय र १६१ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ । यो कम्पनी नाफामै रहेको छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ८१ करोड १० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ ।
FACEBOOK COMMENTS