काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको साधारण सेयर आईइपीओमा योग्य संस्थागतले बोलकबोल पेश गर्ने आज अन्तिम दिन हो ।
आईपीओमा योग्य संस्थागत लगानीकर्ताले आजसम्म बोलकबोल पेश गर्न सक्नेछन् । कम्पनीले माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गरेको हो ।
रिलायन्स स्पिनिङ मिल्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गरेको हो ।
बोलकबोलका प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । संस्थागत लगानीकर्ताले सोही सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ । संस्थागत लगानीकर्तालाई निष्कासित सेयर पूर्णरुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको ‘कट अफ प्राइस’ मूल्य निकालिने कम्पनीले जानकारी गराएको छ ।
कट अफ प्राइस वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदनकलाई माग बमोजिमको धितोपत्र कट अफ प्राइसमा बाँडफाँट हुनेछ । उक्त कट अफ प्राइस भन्दा १० प्रतिशत मूल्य घटाएर दोस्रो रचणमा सर्वसाधारणलाई सेयर जारी हुनेछ । ग्लोबल आइएमई क्यापिटल यसको बिक्री प्रबन्धक रहेको छ ।
FACEBOOK COMMENTS