काठमाडौं । ऊर्जा क्षेत्रमा सफल र अनुभवी उद्यमीहरूको लगानीमा निर्माणाधीन ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजनाले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ ।
आईपीओ निष्कासनका लागि आयोजनाले सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरी प्रक्रिया अघि बढाएको छ । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक भई निर्माणाधीन ५० मेगावाट क्षमताको सो आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ ।
आयोजनामा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३० प्रतिशत अर्थात् साँढे ६७ करोड रुपैयाँ लगानी रहेको छ । ताप्लेजुङ्ग जिल्लाको मेरिङदेन गाउँपालीका वडा नम्वर ३, ४ र ५ मा निर्माणाधीन मेवा खोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अुगुवाईमा ऋण लगानी रहेको छ ।
आयोजनाको लागत ९०० करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ । तोकिएको लागत र समय अवधि भन्दा छिटो आयोजना सम्पन्न गर्नेगरी तीव्र गतिमा निर्माण कार्य भइरहेको युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडका कार्यकारी अध्यक्ष ई. आशिष थापाले बताए । २०७८ साल पुसदेखि निर्माण सुरू गरिएको यस आयोजना २०८१ साल असोज महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।
आयोजनामा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४०० जना भन्दा धेरैले रोजगारी पाएका छन् ।
FACEBOOK COMMENTS