काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर कम्पनीले बैशाख १६ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्काशन गरेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागिएको हो ।
कम्पनीले जारी पुँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । जसमा ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा, २ लाख १० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीका लागि ४२ हजार कित्ता सेयर निष्काशन गरेको छ ।
अब सर्वसाधारणका लागि १७ करोड ४३ लाख रुपैयाँको १७ लाख ४३ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । आईपीओमा न्यूनतम १० देखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।
