काठमाडाैं । माबिलुङ इनर्जी लिमिटेडले आज (असार २२ गते)देखि आयोजना प्रभावित स्थानीयबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको छ।
कम्पनीले आफ्नो जारी पुँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८ दशमलव ९९९८ प्रतिशत सेयर निष्कासन गर्ने अनुमति पाएको छ, जसअनुसार कूल १८ करोड ९० लाख रुपैयाँ बराबरको सेयर बिक्री गरिनेछ।
यस अन्तर्गत कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३ लाख ८५ हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको छ। यी सेयर संखुवासभा जिल्लाको मादि नगरपालिका वडा नम्बर ७, ८, ९ र चैनपुर नगरपालिका वडा नम्बर २, ३, ७, ८ र ९ का स्थायी बासिन्दालाई लक्षित गरी जारी गरिएको हो।
यसैगरी, सर्वसाधारणलाई निष्कासन हुने कूल शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५० हजार ४७१ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भर्न सक्नेछन्। दुवै समूहका लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।
आयोजना प्रभावित स्थानीयबासीले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्। यद्यपि तोकिएको अवधिमा सम्पूर्ण सेयर नबिकेमा उनीहरुले साउन ११ गतेसम्म आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन ४ गतेभित्रै आवेदन दिनुपर्नेछ।
स्थानीय बासिन्दाहरुले ग्लोबल आइएमई बैंक चैनपुर, हिमालयन बैंक मादि नगरपालिका, लक्ष्मी सनराइज बैंक खाँदबारी तथा आयोजनास्थल पावरहाउस रहेको मादि नगरपालिका वडा नम्बर ७ बाट आवेदन दिन सक्नेछन्। आवेदन फारम प्राप्त गर्न स्थानीयले २ रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।
त्यसैगरी, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी-आस्वा सुविधा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। यस आइपीओको बिक्री व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
FACEBOOK COMMENTS