काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले खेलेको भूमिका राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ भएको बताएका छन् ।
इप्पानको २६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न पुर्याएको योगदान राष्ट्रिय विकास र आर्थिक समृद्धिको आधारस्तम्भ भएको बताएका हुन् ।
उपराष्ट्रपति यादवले नेपाल जलविद्युत तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र भएकाले यस अमूल्य स्रोतको सदुपयोग गरी ऊर्जा आयातमा परनिर्भरता घटाउनुपर्नेमा जोड दिए । ऊर्जा आत्मनिर्भरता आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको भन्दै उनले पर्याप्त ऊर्जाबिना विकास सम्भव नहुने स्पष्ट पारे ।
‘सस्तो र पर्याप्त ऊर्जा उपलब्ध भएमा उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा तीव्र विकास भई रोजगारी सिर्जना र आर्थिक समृद्धि सुनिश्चित हुने छ,’ उनले भने ।
कार्यक्रममा उपराष्ट्रपति यादवले नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाई वातावरणीय सन्तुलन कायम गर्न र जलवायु परिवर्तनका चुनौती सामना गर्न मद्दत गर्ने बताए । ग्रामीण तथा दुर्गम क्षेत्रमा ऊर्जा विस्तार सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्ने माध्यमसमेत भएको उनको भनाइ थियो ।

साथै, नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर भारत, बंगलादेशलगायत छिमेकी मुलुकहरूमा विद्युत् निर्यात गर्दै क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्न सक्ने सम्भावना रहेको उपराष्ट्रपति यादवको भनाइ थियो । ऊर्जा उत्पादनमा गुणस्तर, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले आधुनिक प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई आत्मसात गर्नुपर्ने बताए ।

ऊर्जा परियोजनाबाट प्रभावित समुदायलाई लाभान्वित हुने व्यवस्था गर्न र उत्पादनदेखि वितरण, भण्डारण तथा निर्यातसम्म दीर्घकालीन रणनीति आवश्यक रहेको उनको भनाइ छ ।

FACEBOOK COMMENTS