काठमाडौं । डेडिकेटेड र ट्रङकलाइन बिजुलीको महसुल विवादका कारण नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा बिजुली काट्दा त्यसको असर विद्युत् उत्पादक कम्पनीहरूमा देखिन थालेको छ ।
विद्युत् बढी उत्पादन हुने समयमै प्राधिकरणले खपत घटाउनेगरी उद्योगहरूमा बिजुली काट्दा विभिन्न जलविद्युत् आयोजनाहरूमा प्रत्यक्ष असर देखिन थालेको हो ।
विद्युत् प्राधिकरण र उद्योगीहरूबीचको विवादका कारण विद्युत् खपत घटेको र आयोजनाहरूका आर्थिक स्थितिमा समेत प्रत्यक्ष असर पार्न थालेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै इप्पानले प्राधिकरण र उद्योगीहरू जिम्मेवार भएर तत्काल महसुल विवाद समाधान गर्नुपर्ने धारणा अघि सारेको छ ।
नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसायीहरूबीच भएको डेडिकेटेड र ट्रङ्क लाइनको महसुल बक्यौतासम्बन्धी विवादबारे इप्पानको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा विद्युत् प्राधिकरणले उद्योगहरूको लाइन काट्न थालेको र केही उद्योगहरूले यसको विरुद्ध अन्य उद्योगहरूले तालाबन्दी गरेर उद्योग बन्द गर्ने भनेर सार्वजनिक गरेपछि यसले निजी क्षेत्रका ऊर्जा प्रर्वद्धकहरूलाई चिन्ता बढाएको छ ।’
वर्षभरि उत्पादन हुने बिजुलीमध्ये ७० प्रतिशतभन्दा बढी वर्षाको समयमा उत्पादन हुने र यही बेला कम खपत भएमा यसले आयोजनाहरूको आर्थिक अवस्थामा प्रत्यक्ष असर पार्छ भने लाइन काट्ने क्रमसँगै खपत कम भई यसको असर आयोजनामा देखिन थालिसकेको इप्पानको विज्ञप्तिमा उल्लेख छ ।
‘सामान्य अवस्थामा समेत बिजुली खेर गएर निजी क्षेत्रका आयोजनाहरूले समस्या भोगिरहेको बेला भएका उद्योग व्यवसाय समेत बन्द हुने परिस्थितिले आयोजनाहरूको आम्दानीमा गम्भीर असर पर्ने देखिएको छ,’ इप्पानले विज्ञप्तिमार्फत भनेको छ, ‘ऊर्जा खपतका लागि ऊर्जा, उत्पादन गर्ने कम्पनीहरू, खपत गर्ने उद्योगहरू र यसको व्यवस्थापन गर्ने विद्युत् प्राधिकरणबीच सौहार्दपूर्ण सम्बन्ध र कारोबारले नेपालको ऊर्जा विकास हुने भएकाले अहिले देखिएको विवादको व्यवस्थापन गर्न ढिलाइ भइसकेको छ ।’
नेपाल विद्युत् प्राधिकरणले उद्योग व्यवसायीको लाइन काट्ने निणर्यबाट र उद्योग व्यवसायीले पनि बक्यौतालाई लिएर अरु उद्योगहरूको लाइन आफैं विच्छेद गर्ने अवस्थाबाट पछाडि हटेर वैकल्पिक बाटो अपनाउन इप्पानले आग्रह गरेको छ ।
विद्यमान समस्याको समाधान गरी निजी क्षेत्रहरूको उत्पादन गर्ने बिजुली खेर नजाने वातावरण बनाइदिन आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ‘छलफल र सम्वादमार्फत यथाशीघ्र समस्या समाधान गर्नका लागि इप्पान दुवै पक्षलाई हार्दिक अनुरोध गर्दछ । अहिले दुवै पक्षबीच देखिएको संवादहीनता र द्वन्द्वको अवस्था अन्त्यका लागि पहल गरिदिन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अन्य सम्वद्ध सरकारी निकायहरूमा पनि इप्पानको तर्फबाट विशेष ध्यानाकर्षण गराउन चाहान्छौँ ।’
विद्युत् महसुल विवादबारे उद्योगी : बक्यौदा भए प्रमाणसहित आउ, होइन भने तर्साउन र धम्क्याउन बन्द गर
FACEBOOK COMMENTS