काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सरकारले १८० दिनभित्र सबै विद्युत् खरिद सम्झौता (पीपीए) खोल्ने घोषणाको स्वागत गरेको छ ।
सरकारले शनिबार सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्ययोजनामा ऊर्जा क्षेत्रलाई प्राथमिकता दिँदै पीपीए खोल्ने घोषणा गरेकोमा इप्पानले स्वागत गरेको हो ।
इप्पानले आज आइतबार प्रेस विज्ञप्ति जारी गरी लामो समयदेखि रोकिएका करिब १३ हजार मेगावाट क्षमताका आयोजनाको पीपीए ६ महिनाभित्र खुल्ने अपेक्षा व्यक्त गर्दै यसले निजी क्षेत्रका लगानीकर्तामा नयाँ उत्साह थपिएको जनाएको छ ।
सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै उत्पादन, प्रसारण, वितरण र निर्यातमा देखिएका अवरोध हटाउने नीति लिएकोप्रति इप्पानले सकारात्मक प्रतिक्रिया दिएको छ । विशेषगरी प्रसारण लाइन निर्माण, विद्युत् व्यापार र निर्यातमा निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने आफ्नो माग कार्ययोजनाले सम्बोधन गर्ने विश्वास संस्थाले लिएको छ ।
त्यस्तै, ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने, नेपाल विद्युत् प्राधिकरणको संरचनात्मक सुधार गर्ने तथा वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक संरचना विकास गर्ने योजनाले ऊर्जा क्षेत्रमा देखिएका संरचनागत तथा वित्तीय समस्या समाधानमा सहयोग पुग्ने इप्पानको भनाइ छ ।

इप्पानका अनुसार एकद्धार प्रणाली लागू हुँदा जग्गा प्राप्ति, रुख कटान र वातावरणीय अध्ययनमा हुने ढिलाइ हटेर ऊर्जा क्षेत्रमा लगानी गर्ने वातावरण थप सहज बन्नेछ ।

संस्थाले कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन हुनु नै सबैभन्दा महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न आफूहरू तयार रहेको जनाएको छ ।
FACEBOOK COMMENTS