काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले १० मेगावाट क्षमतासम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) र सौर्य ऊर्जा परियोजनाको पीपीए बढाउँदै जाने सरकारको निर्णय स्वागतयोग्य भएको बताएको छ ।
आज बिहीबार प्रेस विज्ञप्ति जारी गरी इप्पानले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षमा गत माघ २४ गते बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको ९६३औं बैठकले जलविद्युत् र सोलार आयोजनाको हकमा गरेको निर्णयको स्वागत गरेको हो ।
‘बोर्डले गरेको १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिदविक्री सम्झौता (पीपीए) खुल्ला गर्ने र त्यस्ता आयोजनाहरुले पीपीए गर्नका लागि पाइप लाइनमा बस्नुनपर्ने, पीपीए भइसकेका आयोजनाले २५ प्रतिशतसम्म क्षमता वृद्धि गर्न चाहेमा लेउ वा तिर (टेक अर पे) अनुसार नै पीपीए गरिदिने तथा २५ प्रतिशत भन्दा धेरै क्षमता वृद्धि हुने अवस्थामा त्यो भन्दा माथिल्लो सीमाको पीपीए लिएपछि मात्रै तिर (टेक अर पे) अन्तर्गत गर्ने निर्णय गरेको छ । यसैगरी सौर्य ऊर्जा आयोजनाको पीपीए सीमा बढाउँदै जडित क्षमतामा १० प्रतिशतको सट्टा पीपीए भइसकेको जलविद्युत् क्षमताको १० प्रतिशतसम्म सोलार आयोजनाको पीपीए गर्ने निर्णय गरेको छ । यी सबै निर्णयहरुको इप्पान हार्दिक स्वागत गर्न चाहान्छ,’ संस्थाका अध्यक्ष गणेश कार्की र महासचिव बलराम खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
यो निर्णयले स्वदेशी लगानीमा निर्माण हुने साना आयोजना निर्माण प्रक्रियामा गई ग्रामिण अर्थतन्त्रको विकास मार्फत समग्र अर्थतन्त्र र रोजगारी सिर्जनमा ठूलो योगदान पुग्ने विश्वास इप्पानले गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘आयोजनाको क्षमता बढाउन सक्ने निर्णय नेपालको जलस्रोतको अधिकत्तम उपयोगका लागि महत्वपूर्ण हुने र यसले निजी क्षेत्रले समेत क्षमता बढाउन सक्ने बाटो खुलेको छ । यो निर्णयसँगै निजी क्षेत्र अब पीपीए गरेर आयोजना निर्माणमा अग्रसर हुनेमा पनि हामी विश्वस्त तुल्याउन चाहन्छौ ।’
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले आगामी १२ बर्षमा १३ हजार ५ सय मेगावाट आन्तकरिक खपत तथा भारत र बंगलादेशमा १५ हजार मेगावाट बिजुली निर्यातसहित २८ हजार ५ सय मेगावाटको लक्ष्यसहितको मार्गचित्र तयार पारेको पनि संस्थाले जनाएको छ । सो लक्ष्य पूरा गर्नका लागि यो निर्णय सरकारको पहिलो महत्वपूर्ण कदमको रुपमा हामीले लिएको विज्ञप्तिमा उल्लेख छ । सो लक्ष्य हासिल गर्नका लागि थप बिजुली उत्पादनको आवश्यकता भएकोले अब छिट्टै सबै क्षमताका जलविद्युत् आयोजनाहरुको पीपीए कुनै सीमा नराखी पूर्ण खुल्ला गर्ने भन्ने अपेक्षा पनि इप्पानले राखेको छ ।
हेर्नुहोस् विज्ञप्ति–
FACEBOOK COMMENTS