काठमाडौं । इजरायली आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका कमाण्डर हुसेन सलामीको मृत्यु भएको इरानको सरकारी मिडियाले पुष्टि गरेको छ ।
उनी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको मुख्यालयमा इजरायली आक्रमणमा मारिएका थिए ।
उनी इरानका सबैभन्दा प्रभावशाली सैन्य अधिकारीहरू मध्ये एक थिए र २०१९ देखि इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको नेतृत्वमा थिए । उनी आफ्नो कट्टरपन्थी र आक्रामक रणनीतिका लागि परिचित थिए ।
इजरायलको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स अन्तर्गतको खतम अल अनबियाका प्रमुख घोलाम अलि राशिद तथा परमाणु वैज्ञानिकद्वय डा एएस फेरेदौन अब्बासी र डा एएस तेहरानको समेत मृत्यु भएको इरानका मिडियाले पुष्टि गरेका छन् ।
सलामी बाहेक, इरानका सैन्य प्रमुख मोहम्मद बघेरी, सेनाका शीर्ष तहका अन्य सदस्यहरू र वरिष्ठ आणविक वैज्ञानिकहरू पनि मारिएको दाबि गरिएको छ ।
हुसेन सलामीको जन्म १९६० मा इरानी शहर इस्फहानमा भएको थियो । उनले एयरोस्पेस इन्जिनियरिङ पढेका थिए र त्यसपछि इरान-इराक युद्ध (१९८०-१९८८) को समयमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्समा सामेल भए । युद्धको अनुभवले उनलाई द्रुत गतिमा सैन्य नेतृत्वको उचाइमा पुर्यायो ।
अमेरिका र अन्य धेरै देशहरूले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सलाई आतंकवादी संगठन घोषणा गरेका छन् । सलामीको नेतृत्वमा, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अझ आक्रामक अडान अपनायो । हालको इरान-इजरायल तनावमा पनि सलामीको भूमिका महत्त्वपूर्ण थियो ।
हुसेन सलामीलाई इरानका सर्वोच्च नेता अयातुल्लाह अली खमेनीको नजिक मानिन्थ्यो । उनी सिधै खमेनीलाई रिपोर्ट गर्थे ।
FACEBOOK COMMENTS