काठमाडौं । इरान–इजरायल युद्धमा लेबनानस्थित हिज्बुल्लाह समूह पनि खुलेर सहभागी भएको छ ।
उसले उत्तरी इजरायलको हाइफा सहरमा ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ । सन् २०२४ नोभेम्बरमा भएको युद्धविरामपछि पहिलो पटक हिज्बुल्लाह सक्रिय रूपमा युद्धमा उत्रिएको हो ।
इजरायली सञ्चारमाध्यमका अनुसार हाइफा क्षेत्रमा कम्तीमा ६ वटा रकेट सिधै खसेका छन् । उत्तरी इजरायलका विभिन्न बस्तीमा पनि ठूलो संख्यामा रकेट प्रहार गरिएको बताइएको छ । हिज्बुल्लाहले लेबनानको भूमिबाट आक्रमण सुरु गरेको हो । यद्यपि लेबनान सरकारले यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन र हिज्बुल्लाहले पनि सबै आक्रमणको जिम्मेवारी खुलेर लिएको छैन ।
उता इजरायलले हिज्बुल्लाहका गतिविधिलाई गम्भीर रूपमा लिएको छ । इजरायली सेनाले लेबनानभर हिज्बुल्लाहका अड्डामाथि कडा प्रतिकारात्मक आक्रमण सुरु गरेको जनाएको छ । हिज्बुल्लाहको प्रभाव क्षेत्र मानिने दक्षिणी लेबनान, बेका उपत्यका र हदाथिया जिल्लामा विस्फोटको आवाज सुनिएको खबर छ ।
इजरायलले हिज्बुल्लाहलाई इरानको समर्थनमा काम गर्ने समूह भन्दै उत्तरी इजरायलका बासिन्दालाई निशाना बनाउने कुनै पनि प्रयास सहन नहुने चेतावनी दिएको छ । इजरायली सेनाका अनुसार हिज्बुल्लाहका कारबाहीले लेबनानलाई नै ठूलो क्षति पुर्याइरहेको छ र यसको कडा जवाफ दिइनेछ ।

FACEBOOK COMMENTS